स्थानीय तह निर्वाचन गठबन्धन भित्रै गन्जागोल


वैशाख १३, दैलेख
यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्रका दलहरू आफैले टुङ्ग्याएको भागबन्डा विपरीत गएका छन् । दैलेखमा चार दलले गठबन्धन गरी निर्वाचनमा जाने सहमति गरेको भएपनि उनीहरूले आ–आफ्नै तरिकाले छुट्टा–छुट्टै मनोनयन दर्ता गरेपछि गठबन्धन भित्रै गन्जागोल देखिएको हो ।
स्थानीय तह निर्वाचनकालागि निर्वाचन आयोगले आइतबार र सोमबार राखेको मनोनयन दर्तामा गठबन्धन भित्रका पार्टीहरूले छुट्टै मनोनयन दर्ता गरेका हुन् । गठबन्धनको निर्णय अनुसार दैलेखका ११ स्थानीय तह मध्ये ६ वटामा प्रमुख काँग्रेस ३ वटामा समाजवादी र २ वटा माओवादीको भागमा परेको थियो ।
विशेष गरी गठबन्धन भित्रको प्रमुख घटक नेपाली काँग्रेसले छुट्टै निर्वाचनमा जाने भन्दै स्थानीय तहमा मनोनयन दर्ता गराएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठबन्धनको निर्णय अनुसार मेयर समाजवादीको भागमा परेको छ । उक्त नगरपालिकामा काँग्रेसले मेयर–उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।
काँग्रेस चामुण्डाले केहिदिन अघि एक विज्ञप्ति जारी गदै गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश कार्यसमितिले गरेको निर्णय प्रति घोर आपत्ति जनाउँदै चामुण्डामा गठबन्धन नगरी एकल चुनावमा भाग लिने जनाएको छ ।
काँग्रेसबाट चामुण्डविन्द्रासैनी नगरपालिका मेयरको मनोनयन दर्ता गराएका गणेश कुमार शाहीले पार्टीबाट आफूनै आधिकारिक उम्मेदवार भएको बताएका छन् । आफूले काँग्रेसको केन्द्रबाट टिकट पाएर मनोनयन दर्ता गरेको बताए ।
शाहीले पार्टीको नीति स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु भन्ने रहेकाले चामुण्डामा काँग्रेस एक्लै निर्वाचनमा जाने बताए । उनले भने, ‘गठबन्धनको आधिकारिक पत्र आफूहरूले पाएका छैनौँ, पत्र आए पनि काँग्रेस चामुण्डामा एक्लै निर्वाचनमा जान्छ ।’,
भैरवी गाउँपालिकामा पनि काँग्रेसले सम्पूर्ण पदमा उम्मेदवारी दर्ता गराएको जनाएको छ । उत गाउँपालिकामा गठबन्धनको निर्णय अनुसार अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेसको भागमा परेको थियो ।
काँग्रेस भैरवी गाउँपालिका कार्यसमितिले विज्ञप्ति जारी गर्दै गठबन्धनले गरेको निर्णय प्रति सहमत नरहेको उल्लेख गरेको छ । ‘भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेसले एकल उम्मेदवारी दिने र वडा तहको हकमा स्थानीय आवश्यकताका आधारमा सम्बन्धित वडालाई निर्णय गर्ने अधिकार दिने’, विज्ञप्तिमा भनिएको छ ।
माओवादी,
समाजवादी छुट्टै
नौमूले गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै निर्वाचनमा जाने निर्णय गरेका छन् । नौमूलेमा अध्यक्ष काँग्रेसको भागमा परेपछि माओवादी र समाजवादीले छुट्टै निर्वाचनमा जाने निर्णय गरेका हुन् ।
दुई दलले अध्यक्ष माओवादी र उपाध्यक्ष समाजवादीको भागमा पारेर उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्र र समाजवादीले संयुक्त विज्ञप्ति जारी गर्दै काँग्रेसको हैकमवादी शैलीका कारण जनमत भन्दा विपरीत निर्णय भएकाले आफूहरूले छुट्टै निर्वाचनमा जाने निर्णय गरेको जनाएका छन् ।
नौमूलेमा माओवादीबाट अध्यक्षका लागि छवि सुवेदी र समाजवादीबाट उपाध्यक्षका लागि गंगबहादुर शाहीले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट अध्यक्षका लागि भदेबुढा मगर र उपाध्यक्षमा अमृता सिंहले उम्मेदवारी दर्ता गराएका जनाइएको छ ।
उम्मेदवार
कायम गराउन निर्देशन
जिल्लाका अधिकांश स्थानीय तहमा गठबन्धन भित्रका दलहरूले छुट्टा–छुट्टै मनोनयन दर्ता गराए पछि नेपाली काँग्रेसले सत्ता गठबन्धन दलहरूबिचको भागबन्डा अनुसार उम्मेदवारहरू कायम गर्न निर्देशन दिएको छ ।
प्रदेश महामन्त्री कृष्णबहादुर रोकायद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ ‘पाँच दलिए गठबन्धन कर्णाली प्रदेशस्तरीय संयन्त्रको बैठकको निर्णयअनुसार पालिकाको सिट बाँडफाँड गरी गठबन्धनका साँझा उम्मेदवार बनाउने सहमति भएको जानकारी नै छ, सोही अनुसार काँग्रेसले प्राप्त गरेको पदमा मात्र उम्मेदवार कायम गराउन हुन निर्देशन गरिएको छ ।’
सहमतिको प्रयासमा छौँ
काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले भागबन्डा अनुसार काँग्रेसले प्राप्त गरेको पदमा उम्मेदवार कायम गराउन माथिबाट निर्देशन आएको बताए । ‘माथिबाट निर्देशन आएको छ, यहाँका साथीहरूले मानिरहनु भएको छैन, गठबन्धनको बसेरमिलाउने प्रयासमा छौँ,’ रेग्मीले भने ।
माओवादी केन्द्र दैलेखका अध्यक्ष प्रेम कटुवालले दैलेख काँग्रेसका कारण गठबन्धन अलमलमा परेको बताए । ‘माओवादी गठबन्धनका विषयमा जिम्मेवार छ, काँग्रेसमा धेरैको आकांक्षा हुनु, कार्यकर्तामा उत्तेजना देखिनु लगायतका कुराले यस्तो देखिएको हो’, उनले भने ।
दैलेखका ११ वटा स्थानीय तह मध्ये नारायण नगरपालिका बाहेक अन्य १० स्थानीय तहमा गठबन्धन भित्रका दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । नारायणमा नगरपालिकामा गठबन्धनको निर्णय अनुसार काँग्रेसको भागमा मेयर र समाजवादीको भागमा उपमेयर परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार