चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा


वैशाख २०, दैलेख
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिन्ह प्रदान भइसकेको छ । उम्मेदवारले चुनाव चिन्ह पाएपछि दैलेखमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल उस्तै छ । चिया पसलदेखि चौतारासम्म पनि चुनावकै चर्चा छ । दलहरू प्रचारप्रसारमा लागेका छन् ।
घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरि रहेका छन् । गहुँवाली भित्राउने समय भएकोले किसानको बारीमै पुगेर मतदातासँग उम्मेदवारहरुले मत मागेका छन् ।
११ वटा स्थानीय तह रहेको दैलेखमा दुई नगरपालिकाका मेयर÷उपमेयर पदमा गठबन्धन छ । अन्य नगरपालिका गाउँपालीका हरुमा दलहरु एक्ला एक्लै निर्वाचनमा होमीएका छन् ।
एमालेले मनोनयन दर्ता गरेदेखिनै चुनावी अभियानमा लागेको छ भने गठबन्धन केहिदिन अघिबाट मात्रै चुनावी अभियानमा लागेको छ । मनोनयन दर्ता गर्दा नेता तथा कार्यकर्ताले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दिएपछि गठबन्धनलाई मिलाउन केही समय लागेको थियो । दैलेखका केहि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु पनि तीव्र गतिमा चुनाव प्रचारमा लागेका छन् ।
एमालेले बैशाख १२ गतेबाट निर्वाचन अभियानको सुरु गरेको एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले बताए । ‘जिल्लाका ११ स्थानीय तहबाट एकै दिन चुनावि अभियान सुरु गरेका हौँ, सबै स्थानीय तहमा सम्बन्धित कमिटिले आ–आफ्नै तरिकाले प्रचारका लागेका छन’्, शर्माले भने ।
बैशाख १८ गतेदेखि नारायण नगरपालिका ७ बाट चुनावी अभियान सञ्चालन गरीएको काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए । उनले दैलेखका दुई नगरपालिका मध्ये नारायणमा काँगे्रसले प्रमुख र समाजवादिले उपप्रमुखमा गठबन्धन गरेको र दुल्लु नगरपालिकामा काँग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा गठबन्धन गरेको बताए । दैलेखका ११ वटा स्थानीय तहमा चार दलीय गठबन्धन गर्ने निर्णय भएको भए पनि अन्तिममा भागवण्डा नमिल्दा दुई पालीकामा प्रमुख र उपप्रमुखमा मात्र गठबन्धन गरिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि जिल्लाका सबै पालिकाहरुमा चुनावी अभियान तीब्र बनाएको छ । जिल्लामा रहेका ११ वटै पालीकाहरुमा कतै गठबन्धन त कतै एकल रुपमै उम्मेदवारी दिएर चुनावी अभियानका कार्यक्रमहरुलाई तिब्रता दिएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवालले बताए । जिल्लाका ११ पालिकामध्ये कतै गठबन्धन गरेका छौ कतै एकल रुपमै निर्वानमा होमिएका छौ, ‘उनले भने महावु गाउपालिका, नौमुले गाउपालिका र आठबिस नगरपालिकामा नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादीबिच तालमेल (गठबन्धन) गरेर चुनावि अभियानका कार्यक्रमहरु भैरहेका छन् । संयोजक कटुवालका अनुसार डुंगेश्वर गाउपालिका, गुराँस गाउपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका र दुल्लु नगरपालिकामा आवश्यकता अनुसार पालीका प्रमुख÷उप प्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा वडा अध्यक्ष÷सदस्यहरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गरिएको छ भने ठाटीकाँध, र भैरवी गाउपालिकामा गठबन्धन प्रयास असफल भएपछि माओवादी केन्द्र एक्लै चुनावी मैदानमा होमिएको छ । मावोवादी केन्द्रसँग गठबन्धन गरिएका दलहरुसँगको सहकार्यमा जिल्लाका ११ वटै पालिकाहरुमा चुनावी अभियानका कार्यक्रमहरुलाई तीब्र पारिएको बताउँदै उनले हाल वडास्तरिय चुनावी सभा, घरदैलो तथा भेटघाटका कार्यक्रमहरु जारी रहेको बताए ।
निर्वाचनको मिति नजिकिएसँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि जिल्लाभर चुनावी अभियानका कार्यक्रमहरु गरिरहेका छ । बैशाख १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम सकिएसँगै जिल्लाभर चुनावी अभियानका कार्यक्रमहरुलाई निरन्तर भइरहेको नेपाल मजदुर किसान पार्टी दैलेखका अध्य जग्य बहादुर शाहीले जानकारी दिए ।
जिल्लाका ११ पालिकामध्ये नौमुले गाउपालिका बाहेक अध्य १० वटै पालीकाहरुमा उम्मेदवारी दर्ता गरेर एकल रुपमा चुनावी मैदानमा होमिएको उनले बताए ।
यस्तै राष्ट्रिय जनमोर्चाले पनि चुनावी अभियानका कार्यक्रमहरुलाई तिब्रता दिएको राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष भिमसिंह बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टका अनुसार राष्ट्रिय जनमोर्चाले जिल्लाका ११ पालिका मध्ये ३ पालिकामा मात्रै उम्मेदवारी दर्ता गराएर चुनावि मैदानमा होमिएको छ । जिल्लाका भगवतिमाई, भैरवी र नौमुले गाउपालीकामा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको र हाल वडादेखी पालिका स्तरसम्मका चुनावी अभियानका कार्यक्रमहरुलाई तिब्रता दिएको बताईएको छ ।
राप्रपाले पनि जिल्लाभर चुनावी अभियानलाई प्रभावकारी बनाएको छ । नारायण नगरपालिकामा नगरप्रमुख सहित अन्य विभिन्न पालिकाहरुमा उम्मेदवारहरुले चुनावी अभियानलाई तीव्र पारेको अध्यक्ष भत्तबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार