एकल पुरुषलाई भत्तादेखि एक वडामा २५ युवालाई रोजगारीसम्म


वैशाख २०, दैलेख
स्थानीय तहको निर्वाचनको मिति आउन ९ दिन बाँकी रहँदा निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफूले निर्वाचन जितेको खण्डमा पाँच वर्षको अवधिमा गरिने कामहरूको घोषणापत्र सार्वजनिक गर्दै आएको छन् ।
निर्वाचन नजिकिँदै गर्दा एमालेका तर्फबाट नारायण नगरपालिकाको मेयरका उम्मेदवार लोमन शर्मा (काफ्ले) र उपमेयरका उम्मेदवार तप्ता कुमारी खड्का (थापाले) ४० बुँदे लोकप्रिय घोषणापत्र सार्वजनिक गरेका छन् ।
उनीहरूले सार्वजनिक गरेको घोषणापत्रमा एकल पुरुषलाई मासिक भत्तादेखि भारत लगायत वैदेशिक रोजगारीमा वाहिरी मुलुक जाने युवाहरूलाई स्थानीय स्तरमा रोजगारी दिन रोजगार बैङ्कको स्थापना गरी प्रत्येक वडाका २५ जना युवा युवतिहरूलाई रोजगारी प्रधान गर्ने उल्लेख गरेका छन् । सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानीय तहमा भ्रष्टाचार मुक्त प्रशासन, गुणस्तरीय विकास निर्माण र सुशासनलाई दृढतापूर्वक कार्यान्वयन गरिने उल्लेख गरिएको छ । यस्तै, नगरपालिका भित्रका उपभोक्ताहरुले तिर्दै आएको खानेपानीको चर्को मूल्यलाई कटौती गरी न्यूनतम शुल्क मिनाहा गर्ने उल्लेख गरिएको छ । यस्तै, नगर पालिकाको मुकामदेखि प्रत्येक वडाका केन्द्र सम्मको बाटो दुई वर्ष भित्र कालोपत्रे गरिने बताइएको छ । नारायण नगरपालिका वासीलाई सहज यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गरिने घोषणा पत्रमा भनिएको छ । नगर भित्रका जेहेन्दार दलित, विपन्न समुदायका विध्यार्थीहरुलाई उच्च शिक्षा पठन÷पाठनका लागि छात्रवृत्ति कोष स्थापना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, समाजमा भएका सबै खाले विभेद अन्त्य गर्दै समाजमा पछाडि परेका महिला, दलित, अपाङ्ग आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन विशेष कार्यक्रम अगाडि बढाइने उल्लेख गरिएको छ ।
यस्तै, नारायण नगरपालिकामा तत्काल सबवाहानको व्यवस्था गर्ने र जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिने पोस्टमार्टमको शुल्क नारायण नगरपालिका बासीहरूलाई निःशुल्क गरिने जनाइएको छ ।
नगर प्रमुखका उम्मेदवार शर्मा र थापाले सार्वजनिक गरेको घोषणा पत्रमा बिजुली बत्ती नपुगेका वडाहरूमा एक वर्ष भित्र बत्ती पु¥याउने उल्लेख गरिएको छ । यस्तै, जातीय विभेदको अन्त्य गरी नारायण नगरलाई विभेद मुक्त नगरपालिका घोषणा गरिने उल्लेख गरिएको छ ।
घोषणा पत्रको पूर्णपाठ


१.स्थानीय तहमा भ्रष्टाचार मुक्त प्रशासन,गुणस्तरीय विकास निर्माण र सुशासनलाई दृढतापूर्वक कार्यान्वयन गरिने छ ।
२.नारायण नगरपालिका भित्रका उपभोत्ताहरुले तिर्दै आएको खानेपानीको चर्को मूल्यलाई कटौती गरी न्यूनतम शुल्क मिनाहा गर्ने छौँ । न्यूनतम भन्दा माथिको शुल्क मात्र तिर्ने व्यवस्था गरिने छ ।
३.एक घर एक धाराको प्रवर्धन गर्दै रातमाटे, नमुना बस्ती लगायत अति विपन्न दलित परिवारको लागि खानेपानीको धारा जडान गर्न लाग्ने महसुल छुट र सामग्रीहरू निःशुल्क प्रदान गरिने छ ।
४.नगर देखि प्रत्येक वडा केन्द्र सम्मको बाटो २ वर्ष भित्र कालोपत्रे गरिने छ ।
५.नगरवासीलाई यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गरिने छ ।
६.निर्माण हुन बाँकी वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाका भवनहरू यथाशीघ्र निर्माण गरिने छ ।
७.नारायण नगरको बजार क्षेत्र भित्र बहु आयामिक कम्प्लेक्स भवन र बृहत्तर सभा हलको निर्माण गरिने छ ।
८.कृषिलाई व्यावसायिक बनाई बृहत्तर आय आर्जनसँग जोडिने छ । जसका लागि प्रत्येक वडामा १÷१ जना कृषि प्राविधिक र भेटेरिनरी प्राविधिकको व्यवस्था गरिने छ । एक वडा एक उत्पादन, एक घर एक करेसाबारीको अवधारणा लागु गरिने छ ।
९.नगरको १ र ६ नम्बर वडालाई व्यापारिक र सांस्कृतिक केन्द्र २, ७, ८, ९ र ११ नम्बर वडालाई कृषि हव र ३, ४, ५, १० र ११ नम्बर वडालाई पशुपालन हबको रूपमा विकास गरिने छ ।
१०.उद्यम शीलता विकास तालिममा विशेष जोड गरिने छ ।
११.नगरभित्र पर्यटन उद्योगको स्थापना गर्दै । आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राखिने छ ।
१२.आम नागरिकमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गरिने छ । जसका लागि नारायण नगरभित्रका सम्पूर्ण स्वास्थ्य चौकीहरूबाट २४ घण्टा सेवा उपलब्ध गराइने छ । यसका लागि थप जनशक्तिको व्यवस्था गरिने छ । प्रत्येक महिना वृद्ध नागरिक हरूलाई घरमै निःशुल्क सेवा प्रदान गरिने छ । सबै नागरिकहरूलाई २ वर्ष भित्र स्वास्थ्य बिमामा आबद्ध गराइने छ । विपन्न, असहाय, अपाङ्ग वर्गको स्वास्थ्य बिमा निःशुल्क गरिने छ । त्रिवेणी स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा रूपान्तरण गरिने छ । दैलेख जिल्ला अस्पताललाई ५० शय्याको अस्पताल बनाई विशेषज्ञ सेवा सञ्चालन गरिने छ ।
१३.प्रत्येक वडामा तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको बर्थिगं सेन्टर संञ्चालन गरिने छ । आमा र वच्चाको स्वास्थ्य सुरक्षाका लागि पोषण र खोप सेवा प्रभावकारी बनाईने छ ।
१४.युवाहरुलाई कुलतमा फस्न नदिन विशेष कार्यक्रम लागुन गरिने छ । नगरपालिकामा सुधार केन्द्र स्थापना गरिने छ ।
१५.सुत्केरी र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू, अपाङ्ग, असहायलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।
१६.नगरमा सबवाहनको तत्काल व्यवस्था गरिने छ र जिल्ला स्वास्थ्य कार्यालयमा गरिने पोस्टमार्टमको शुल्क नगरवासीहरूलाई निःशुल्क गरिने छ ।
१७.एकल पुरुषलाई यसै आर्थिक वर्षबाट मासिक भत्ताको सुरुवात गरिने छ ।
१८.आम नागरिकमा सर्वसुलभ र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जसका लागि सबै विद्यालयहरूमा विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयका भौतिक संरचनाहरू प्रविधि मैत्री बनाउने, शैक्षिक सुधारका लागि तालिमको प्रबन्ध, निशुल्क इन्टरनेट सेवा, शैक्षिक गुणस्तर कायम गर्न प्रभावकारी र नियमित अनुगमनका कार्यक्रमहरू सञ्चालन, शिक्षकहरूको समयानुकूल सेवा सुविधा वृद्धि गरिने छ । स्थानीय भाषा संरक्षणमा प्राथमिकता दिइने छ ।
१९.नगरभित्रका जेहेन्दार दलित, विपन्न समुदायका विद्यार्थीहरूको उच्च शिक्षा पठन पाठनका लागि छात्रवृत्ति कोष स्थापना गरिने छ ।
२०.विपद् व्यवस्थापन कोष, मर्मत सम्भार कोष र असहाय अक्ष कोष निर्माण गरिने छ ।
२१.नगरको बजार क्षेत्रमा मिनी स्टेडियम निर्माण साथै खेलकुद प्रवर्द्धन गर्न प्रत्येक वडामा खेलकुद मैदान निर्माण गरिने छ ।
२१.नगरको बजार क्षेत्रमा रहेको अव्यवस्थित बिजुली पोल तथा तारहरूको १ वर्ष भित्र व्यवस्थापन गरिने छ ।
२२.नगर चक्रपथको बाकी काम यथाशीघ्र सम्पन्न गरिने छ ।
२३.कोटिला पञ्चकोशि मानव निर्मित ताल निर्माणको कार्यलाई निरन्तरता दिई आगामी ५ वर्ष भित्र सम्पन्न गरिने छ ।
२४.बिजुली बत्ती नपुगेका वडाहरूमा १ वर्ष भित्र बत्ती पु¥याउने काम सम्पन्न गरिने छ ।
२५.जातीय विभेदको अन्त्य गरी नारायण नगरलाई विभेद मुक्त नगर घोषणा गरिने छ ।
२६.नगरका सडकहरूमा वृक्षारोपण गरी सम्पूर्ण सडकहरू हरियाली बनाइने छ ।
२७.दैलेख बजारको मुटुमा रहेको पुरानो बजार क्षेत्रलाई पहिलेकै अवस्थामा पुर्नस्थापीत गर्नुका साथै उक्त क्षेत्रका सांस्कृतिक र ऐतिहासिक पुरातात्विक महत्वका बस्तुहरूको संरक्षण गरिने छ ।
२८.खरको छानामुक्त अभियानलाई निरन्तरता दिदैं २ वर्ष भित्रमा खरको छाना मुक्त नगर घोषणा गरिने छ ।
२९.नगरभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय केन्द्रहरूको स्तरोन्नति र प्रचारप्रसार गरिने छ ।
३०.नगरपालिका भित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक बस्तुहरुको संरक्षण र प्रर्वद्धनका लागि संग्राहलय स्थापना गरिने छ ।
३१.पानी उद्योग तथा मझौला खालका अन्य उद्योगहरू सञ्चालन गरी रोजगारी सृजना गरिने छ ।
३२.दैलेख सदरमुकाम देखि महावु, कालिकोट हुँदै रारा पुग्ने सडकलाई ३ वर्ष भित्र सम्पन्न गरी दैलेख सदरमुकामलाई कर्णाली प्रदेशकै प्रमुख व्यापारिक केन्द्रको रूपमा वीकास गरिने छ ।
३३.भारत लगायत वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नगरभित्रै रोजगारी दिन रोजगार बैङ्कको स्थापना गरी प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिने छ ।
३४.जनताको आवश्यकतामा आधारित विकास निर्माण कार्यलाई प्राथमिकता दिने साथै संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई पारदर्शी रूपमा खर्च गरिने छ ।
३५.समाज भएका सबै खाले विभेद अन्त्य गर्दै अझै पनि पछाडि पारिएका महिला, दलित, अपाङ्ग, आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन विशेष कार्यक्रम अगाडि बढाइने छ ।
३६.आवासबाट वञ्चित नागरिकलाई जग्गा (लालपुर्जा) उपलब्ध गराउने छ ।
३७.उपलब्ध पुँजी, सीप र क्षमताको सदुपयोग गर्न सहकारी, निजी क्षेत्र लगायत अन्य विकास साझेदारहरूसँग सहकार्य गर्ने ।
३८.सुशासन र पारदर्शिता कायम गर्न हरेक योजनाको अनिवार्य सार्वजनिक सुनुवाइ गरिने छ । प्रत्येक ६ महिनामा जनताका गुनासो सुनुवाइ गर्न नगरपालिका स्तरीय सार्वजनिक सुनुवाइ सञ्चालन गरिने छ ।
३९.नगरपालिकामा टोल फ्रि नम्बर सेवा मार्फत हरेक नागरिकहरुका गुनासो सुनुवाई र त्यसको सम्बोधन गरिने छ ।
४०.गरिब, दलित र विपन्न समुदायहरूको आत्मनिर्भर हुने व्यवसायहरू सञ्चालन गरिने छ । विपन्न तथा दलित समुदायहरूको स्वास्थ्य सेवा, सरफाइमा विशेष ध्यान दिँदै निःशुल्क आधुनिक शौचालयको निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार