
वैशाख २३, दैलेख
जिल्लाको नौमूले गाउँपालिकाका स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार विद्या प्रसाद शर्मा (ढकाल) ले आफूलाई चुनावी प्रचारमा सुरक्षाकर्मीबाटै रोक लगाइएको बताएका छन् ।
नौमूले गाउँपालिकाको अध्यक्षका पदकालागि स्वतन्त्र उम्मेदवारी दिएका शर्माले काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भदेबुढा मगर र नौमूले काँग्रेसले सुरक्षा संयन्त्रको दुरुपयोग गर्दै आफूलाई चुनाव प्रचारमा रोक लगाएको आरोप लगाएका हुन् ।
बिहिवार नौमूलकको कालिकामा आफू घरदैलो कार्यक्रममा रहेको र प्रहरीसँग काँग्रेसका उम्मेदवारले यो मान्छेलाई हाम्रा केटाहरूले पिट्छन् भन्दै यहाँबाट निकाल्नुस् भने पछि एक स्वतन्त्र उम्मेदवारलाई प्रहरीले शक्तिको आडमा भोट माग्न रोकेको उनले बताए ।
‘प्रहरीले यहाँबाट जान भन्यो, कुनै गलत कार्य नगरेकाले आफु नजाने भने, पछि प्रहरीले मेरो गाडीमा हालेर लिउकी तपाई आफै जाने भनेकाले प्रहरीको गाडीमा नआई जनतासँग भोटमाग्नबाट वञ्चित भएर फर्किनू परेको’, उनले भने ।
शर्माले आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको र प्रहरीले माथिको आदेश भन्दै प्रचारमा रोक लगाएको आरोप लगाए । ‘प्रहरीको काम भनेको उम्मेदवारलाई सुरक्षा दिनु हो, चुनाव प्रचार रोक लगाउनु गलत छ’, शर्माले भने ।
प्रहरीले कुनै पार्टीको कार्यक्रम बिथोल्न पाइँदैन भन्नु राम्रो भएको बताउँदै शर्माले यहाँ बस्न पाइदैन् भन्नु राम्रो नभएको बताए । प्रहरीले तपाई यहाँबाट जाने की आचारसंहिता लगाएर उम्मेदवारी रद्द गर्न लागाउ भन्दै धम्कीपूर्ण भाषा समेत प्रयोग गरेको बताए ।
मिथ्या आरोप प्रहरी
स्वतन्त्र उम्मेदवारलाई प्रचारमा रोक लगाएको भन्ने कुरा मिथ्या आरोप भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।
काँग्रेसको कार्यक्रम भएको स्थल नजिकै उहाँ भोटमाग्दै जानुभएको सूचना आएकाले सुरक्षाका दृष्टिकोणले प्रहरीले शर्मालाई त्याबाट अन्यत्र जान मात्र भनेको शाहले बताए । ‘प्रहरीले कसैलाई मत नमाग्नु भन्न मिल्दैन, हामीले त्यस्तो गरेका छैनौँ, उहाँले लगाउनु भएको आरोप गलत हो’, प्रहरी प्रमुख शाहले भने ।
उनले निर्वाचन आचार संहिता विपरीत कुनै पनि पार्टी जान नपाइने बताए । ‘आचारसंहिता भनेको दलका लागि हो, सुरक्षा निकायले नियमको पालना गराउनु दायित्व भएका हो, व्यक्ति वा पार्टीले नियम बाहिर जान पाइँदैन,’ उनले भने ।
यस्तै, नौमूले गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आचारसंहिताले राजनीतिक दलको प्रचार प्रसारमा बालबालिकाको प्रयोगमा रोक लगाएको छ ।
सरकारमा रहेका सत्तासीन दलले आचारसंहिताको ठाडो उल्लंघन गर्दा जिल्लामा रहेको निर्वाचन आचारसंहिता अनुगमन समिति मुखदर्शक बन्ने गरेको एमाले दैलेखका जिल्ला कमिटी सदस्य याम प्रसाद शर्माले बताए ।
‘सत्तामा रहेका दलहरूले वडा कार्यालयमा आफ्नो पार्टीको झण्डा र निर्वाचन प्रचार बालबालिकाको प्रयोग गर्दा समेत अनुगमन समितिले ख्याल नगर्ने, एमालेले पार्टीको भण्डा बोक्दा विभेदपूर्ण व्यवहार गर्दै झण्डा खोस्ने गरिन्छ’, शर्माले भने ।
नौमूले गाउँपालिकाका निर्वाचन अधिकृत हरि घिमिरेले चुनाव प्रचारमा बालबालिकाको प्रयोग गर्न नपाइने बताए । ‘कुनै पनि पार्टीको प्रचार बालबालिकाको प्रयोग गर्न पाइँदैन, त्यो निर्वाचन आचारसंहिता विपरीत हो’, घिमिरेले भने ।
उनले राजनीतिक दलकहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन हुने कुनै पनि कार्य नगर्न निर्देशन दिएको र चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरिएको भन्ने विषय जानकारी नभएको बताए ।










