
वैशाख २४, दैलेख
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख तथा एमाले दैलेखका सह–इन्चार्ज विष्णु रिजालले ग्रामीण भेगको विकासका लागि एमालेको सरकार अनिवार्य भएको बताएका छन् ।
नेकपा एमालेले भैरवी गाउँपालिकामा चुनावि आमसभालाई सम्बोधन गर्दै रिजालले ओली सरकारका पालामा सुरु गरिएका विकासे योजना आयोजना सम्पन्न गर्नका लागि स्थानीय तहदेखि प्रदेश केन्द्रसम्म एमालेको सरकार आवश्यक रहेको बताएका हुन् ।
उनले भैरवीको विकासका लागि गाउँपालिका सहित ७ वटै वडाहरुमा एमालेका उम्मेदवारले जित्नु पर्ने बताए । जनताको हितमा बितेको पाँच वर्षमा एमालेबाट जितेका जनप्रतिनिधिहरूले राम्रा कामहरू गरेको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सर्वराज महत्तराले एमाले जनप्रिय पार्टी भएकाले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जनताले आफूलाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरे ।
नेकपा एमालेका तर्फबाट भैरवी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार पदम कुमारी बिष्ट केसीले पालिकाका जनता, र पालिकाको विकासका लागगिआफु निरन्तर खटिने बताउदै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई अमूल्य मतदान गरेर जिताउन नागरिकहरुलाई अपिल गरिन् ।
चुनावी सभामा एमाले दैलेखका उपाध्यक्ष प्रेमबहादुर बुढा, एमाले नेता हिक्मत नेपाली लगायतको उपस्थिति रहेको थियो ।
यस्तै चुनावी सभा कार्यक्रममा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र सन्त बहादुर कामी लगायत अन्य कार्यकर्ताहरु पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका जनाइएको छ ।










