
वैशाख २५, दैलेख
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सह–इन्चार्ज तर्कबहादुर शाही एमालेमा फर्किएका छन् । शाही सहित प्रदेश सदस्य र सिङ्गो कमिटी नै एमालेमा फर्किएको छ । शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू लगायत सिङ्गो कमिटी नै एमालेमै फर्किएको उल्लेख गरेका छन् ।
अहिलेको सत्ता गठबन्धन सत्ताको लुछाचुडिका लागि मात्र भएको उल्लेख गर्दै आफूले समाजवादी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ । गठबन्धन प्रतिगमनका विरुद्ध नभई केवल सत्ताको लुछाचुँडी मात्र बनेको र जनतालाई भ्रम छरेको कुरा थाहा भएपछि एमालेमै फर्किएको साहीले बताएका छन् ।
गठबन्धनको भ¥याङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली काँग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जबाफ दिन नसकेको, उग्र वामपन्थ भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको र समाजवादी पार्टीलाई समेत काँग्रेस रुपी गाइको पुच्छर बनाएर सत्तामा कसरी बस्न सकिन्छ भन्ने मात्र ध्यान भएको बेलामा समाजवादीका नेताहरूले समेत अडान लिन नसकेपछि आफूहरू पुनः एमालेमै फर्किनु परेको शाहीले बताए ।
शाहीले बिना कारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पूर्ण कार्य जनविरोधी भएको बताएका छन् । लोकतन्त्र भित्रका फरक फरक विचारहरूलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा एमालेलाई फोड्ने खेललाई अस्वीकार गर्दै एमालेमा फर्किने निधो गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यस्तै एकीकृत समाजवादी पार्टीका राष्ट्रिय पार्सद एवं प्रदेश कमिटी सदस्य सुस्मिता सिंह एमालेमा प्रवेश गरेकी छन् । उनी दैलेखको ठाँटीकाँध गाउँपालिकाको उपाध्यक्ष समेत हुन् । सिंह ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।









