अलमलमा मतदाता,मत बदरको जोखिम वढी

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका छन् । निर्वाचन कार्यालय तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरू अलमलमा परेका हुन् ।
निर्वाचन आयोगले यसपटक वैशाख २९ र ३० गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मतदाता शिक्षा छोटो समय सञ्चालन हुँदा धेरै मतहरू बदर हुने सम्भावना बढेर गएको छ ।
नारायण नगरपालिका–३ की विजु रावतले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे अनविज्ञ रहेको बताईन् । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्तै धेरै मतदाता अन्योलमा परेको उनको भनाइ छ ।

गठबन्धनकै कारण मत बदरको जोखिम
दलहरूबीच चुनावी गठबन्धन भएको कारण र मतदाता शिक्षा सञ्चालन नभएका कारण मतहरू बदर हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् ।
उनले भनिन, ‘बजेट अभाव र छोटो समयका कारण यसपटक निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न सकेन । गैरसरकारी क्षेत्रबाट पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रमहरू हुन नसकेकोले समस्या देखिएको छ । दैलेख जिल्लामा १ लाख ५८ हजार ७ सय ८९ जना मतदाता रहेका छन् ।

किन हुन्छ त मत बदर ?
मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको निर्वाचन कार्यालयका दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले बताउछिन् । ‘मतदाता शिक्षा अभाव र राजनीतिक दलहरु बीच हुने गठबन्धनले बढी मत बदर भइरहेको छ’, काउचा भन्छिन्, ‘आयोगले निर्वाचन शिक्षाका लागि मतदाता स्थलमा डेस्क राखेर सिकाउ छ ।,
विद्युतीय मतदान उपकरणको प्रयोगमा हिचकिचाहटदेखि मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभावलगायत कारणले धेरै मत बदर भइरहेको छ । छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसिको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ । कहिलेकाहीँ मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको छ ।
मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा नचाहँदा मत बदर हुन्छ । यस्तै, एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गरेको भेटिन्छ । स्वस्तिक चिह्नको सट्टा औंठाछाप लगाएको, चुनाव चिह्नमा डटपेनको प्रयोग गरेको पाइन्छ । तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेका मतपत्र भेटिन्छ ।
दलहरूबीच गठबन्धन गर्दा उम्मेदवारी फिर्ता भएकालाई पनि मतदान गर्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । अर्कातर्फ धेरै मतपत्रका कारण मतदाता अलमल भई कोठाभित्र सही रुपमा स्वस्तिक छाप लगाउन नसकेका मतपत्र बदर हुने क्रम बढेको देखिन्छ ।
आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । ब्रोसर, सामाजिक सञ्जाल, अनलाइन मिडियालगायत माध्यमबाट भने कार्यक्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दलहरू पनि भएनन् गम्भीर
हरेक निर्वाचनमा ठूलो संख्यामा मत बदर भइरहे पनि राजनीतिक दलले ‘गम्भीरतापूर्वक’ लिएका छैनन् । दलहरूको संरचना गाउँ–गाउँसम्म हुने हुँदा उनीहरूले राम्रोसँग मतदाता शिक्षा कार्यक्रम गर्दा सहज हुने निर्वाचन कार्यालय बताउँछ ।
‘पार्टीको संयन्त्र परिचालन गर्ने हो मत बदर स्वतः घट्छ त्यसकारण राजनीतिक दल सक्रिय हुनुपर्छ,’ निर्वाचन अधिकारी काउचा भन्छिन, ‘उनीहरूको संयन्त्र तल्लो तहमा छ । तर, उनीहरूको संयन्त्रले कस्तो काम गरेका छन भन्न नसकिने अवस्था छ ।’
एमाले दैलेखका सहसचिव गंगाराम दाहाल पनि मतदाता शिक्षाको अभाव मुख्य कारक रहेको बताउँछन् । दलहरूले गठबन्धन गरेर एउटै मतपत्रमा धेरै ठाउँमा मतदान गराउन लगाउँदा समस्या भएको नेता दाहालको भनाई छ ।
पहिलेका दिनमा निर्वाच आयोगले सञ्चालन गर्न मतदाता शिक्षामा संलग्न स्वयमसेवकले आफ्नो पार्टी अनुकूल मत हाल्न सिकाउने गरेका कारण यो पटक आयोगले उक्त शिक्षा सञ्चालनमा चासो नदेखाएको हुन सक्छ, एमालेले जिल्लाका ११ स्थानीय तहका ९० वडामा कार्यकर्ताको सरकल बनाएर मतदाता शिक्षा दिदै आएको छ’, उनले भने ।
नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी भने यसमा आयोग र दल दुवैको कमजोरी रहेको स्वीकार गर्छन् । ‘मतदाता शिक्षा प्रभावकारी नहुँदा नै मत बदर भइरहेको छ ।,’ सभापति रेग्मी भन्छन्, ‘मतदाता शिक्षा दिने दायित्व आयोग र पार्टीहरूको हो । आयोगले पनि प्रभावकारी रुपमा शिक्षा दिनुपर्छ ।’ मतदाता स्वयं पनि सचेत हुनुपर्ने रेग्मी बताउँछन् ।
‘एउटै मतपत्रमा पनि भिन्नभिन्न उम्मेदवारलाई फरक–फरक चिह्नमा मतदान गराउन खोज्दा बदर हुन्छ’, रेग्मी भन्छन्, ‘अहिले त गठबन्धन छ, नागरिक स्तरमा कसरी मतदान गर्ने भन्ने अलमल देखिन्छ, काँग्रेसले प्रत्येक टोल घरमा पुगेर मतदाता शिक्षा दिर्दै आएको छ’, उनले भने ।
माओवादी केन्द्र दैलेखकाका संयोजक प्रेम कटुवालले भने बदर मत संख्या घटाउने मुख्य दायित्व निर्वाचन आयोगकै भएको तर्क गर्छन् । उले जिल्लाको हकमा निर्वाचन आयोगले मतदाता शिक्षा नदिए पनि जुन तहमा जसरी गठबन्धन भएको छ त्यसै गरी दलका कार्यकर्ता नेताहरुले मतदाता शिक्षा दिदै आएको बताए ।

२०७४ को निर्वाचनमा कति बदर ?
देशमा शिक्षाको प्रतिशत बढ्दो छ । सूचना–प्रविधिको विकासले फड्को मारेको छ । तापनि मतपत्र बदरको संख्या घट्न सकेको छैन । निर्वाचन कार्यालय दैलेखका अनुसार ०७४ को स्थानीय तहको निर्वाचनमा करिव २ प्रतिशत मत बदर भएको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखमा ९९ हजार ६ सय ७९ मत खसेकोमा १ हजार ८ सय ५६ मत अर्थात् करिव २ प्रतिशत बदर भएका जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् ।
११ स्थानीय तह रहेको दैलेखमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा १ लाख ३२ हजार ९ सय ९२ मतदाता संख्या रहेको थियो पाँच वर्ष पछि अर्थात् ०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा १ लाख ५८ हजार ७ सय ८९ मतदाताले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार