
दैलेख ः नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश गरेको छ । यहाँको भैरवी गाउँपालिकामा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् ।
एमाले भैरवीले आज ९मङ्गलवार० गरेको एक चुनावी सभा कार्यक्रममा समाजवादी पार्टी परित्याग गर्दै आचार्यले एमाले प्रवेश गर्नुभएको एमाले भैरवी गाउँपालिका कमिटीका अध्यक्ष वीरेन्द्र बहादुर साहीले बताए ।
आचार्यलाई एमालेका पोलीटव्यूरो सदस्य लक्ष्मी पोखरेल, एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य राजबहादुर बुढा र कर्णाली प्रदेश सभा सदस्य सुशील कुमार थापाले स्वागत गरेका थिए ।
चुनावी सभामा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले छोडेर अन्यत्र लागेका सबैलाई मूल पार्टीमा फर्किन आग्रह गरे । उनले समाजवादी पार्टी सत्ता र पदका लागि जन्मेको बताउँदै देशको विकासका लागि सबैले एमालेमा फर्किनु पर्ने बताए ।









