तीन वर्षमा सबैको घरमा विद्युत

दैलेखः दैलेखको आठविस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पु¥याइने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निर्णय गरेका हुन् ।
‘हरेक बस्तिमा सडकको पहुँच करिब पुगेको छ । बनेका सडकहरुलाई बाह्रैमहिना चल्ने खालको बनाउन स्तरोन्नति गर्ने योजना बनाएका छौं । अबको हाम्रो लक्ष्य भनेको सबै जनताको घरमा बिजुली पु¥याउने लक्ष्य हो’, मेयर बडुवालले भने, ‘बिजुली गाउँबस्तीमा पु¥याउँदा उद्योगहरु खुल्ने र त्यसबाट जनतालाई रोजगारीका अवसर वृद्धि भई आठबीसको समृद्धिको आधार तयार हुनेछ ।’
उनले राकमकर्णालीमा टेलिफोन समस्या विद्यमान रहेको बताउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । यस्तै उपप्रमुख कल्पना थापाले आठविसका गर्भवती तथा सुत्केरी महिलाहरुका उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने बताइन् । उनले गरेको पहिलो निर्णय गर्भवती तथा सुत्केरी महिलाले उपचारका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने भएको हो ।
‘स्वास्थ्य संस्थामा सुत्केरी हुन अहिले पनि धेरै महिलाहरु आइरहेका छैनन् । कतिपय नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याई सुरक्षित सुत्केरी गराउने व्यवस्था मिलाइने छ’, उपमेयर थापाले भनिन्, ‘सुत्केरी हुन नसकेका महिलाहरुका लागि नगरपालिकाको केन्द्रसम्म आवतजावत गर्न एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ ।’
शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित ४७ जना जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथसमेत लिएका छन् । आठबिस नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित पाँच वटा वडा जितेको छ । काँग्रेसले चार वटा वडामा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार