
दैलेखः जिल्लाको दुल्लू नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत रिजालले नगरपालिका भित्रका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णय गरेका छन् ।
रिजालले शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गर्दै सुरक्षित प्रसूति सेवा पु¥याउने उद्देश्यले दुल्लूबाट उपचारका लागि बाहिर लैजानु पर्ने प्रसूतिका बिरामीलाई निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
रिजालले टिप्पणी आदेश जारी गर्दै नगरपालिका भित्रका गर्भवती तथा प्रसूति महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था विद्यमान रहेकाले सुरक्षित सेवा प्रधान गर्ने सिलसिलामा दुल्लू अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्ने अस्पतालमा बिरामीहरूलाई लैजानु पर्ने उल्लेख गरेका छन् ।
आकस्मिक अवस्था सृजना भएमा गर्भवती तथा प्रसूति बिरामीहरूलाई उपचारका लागि बाहिर लिनुपर्ने भए दुल्लू अस्पतालको सिफारिसमा एम्बुलेन्स सेवा प्रयोग गरी बिरामीलाई दुल्लू अस्पतालदेखि बाहिर लैजाँदा प्रयोग हुने एम्बुलेन्स सेवा निःशुल्क गर्नका लागि निर्णय गरिएको टिप्पणी आदेशमा उल्लेख गरिएको छ ।
नगर प्रमुख रिजालले नगरपालिकाको आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने गरी उक्त निर्णय गरिएको बताए । ‘धनीहरूले आफ्नै खर्चमा एम्बुलेन्स व्यवस्थापन गर्ने सक्छन्, गरिवका लागि सहजताका लागि एम्बुलेन्स सेवा निः शुल्क गर्ने निर्णय गरिएको हो’, उनले भने ।
स्थानीय सरकार गाउँका गरिब जनताका लागि भएकाले आफूले पहिलो निर्णय गर्भवतीलाई निःशुल्क सेवा प्रधान गर्ने निर्णय गरेको रिजालको भनाई छ ।










