भैरवीका निर्वाचित जनप्रतिनिधिले कार्यकक्षमा टाँसे तमसुक काम गर्न नसके राजीनामा दिने घोषणा


जेठ ८, दैलेख
स्थानीय तहको निर्वाचनमा होमिएका भैरवीका जनप्रतिनिधिहरूले निर्वाचन अघि जनतासँग गरेको तमसुक आफ्नो कार्यकक्षमा टाँसेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, उन्नत लोकतान्त्रिक पार्टीका नेताहरूले चुनाव अघि जनतामाझ गरेका तमसुक र सही छापलाई निर्वाचन भए सँगै आफ्नो कार्यकक्षमा टाँसेका हुन् ।

भैरवी गाउँपालिकामा नेपाली काँग्रेसबाट रीता शाही गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्ष देवी भण्डारी निर्वाचित भएकी छन् । चुनाव अघि गरेको तमसुक हुबहु कार्यान्वयन गर्ने भन्दै जनतामाझ पुनः प्रतिबद्धता गर्दै आफ्नो कार्यकक्षमा टाँसेका हुन् ।

गाउँपालिका अध्यक्ष रीता शाहीले तमसुक पढ्दै भैरवीको समग्र विकासका लागि आफूले एक रुपैयाँ पनि घुस नखाने, जनतामाझ गरेको करारनामाअनुसार कामको योजना निर्माण गर्दै काम गर्ने र काम गर्न नसकेको खण्डमा राजीनामा दिने बताएकी छन् ।

समाजमा सुशासन हराउँदै गएको छ, भ्रष्टाचार बढेको छ, स्थानीय तहको विकासमा भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे बनाउने र विभिन्न बहानामा प्रभावकारी काम नहुने जस्ता समस्याहरू समाधान गर्नका लागि जनकरार पत्र तयार गरिएको थियो । निर्वाचित जनप्रतिनिधिहरू नगरिकहरु प्रति जवाफदेही बनुन् भनेर यस्तो अभियान थालिएको र सोही अनुसार सहिछाप सहितको जनकरार पत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको गणेशप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

गाउँपालिकाको सेवा जनमुखी, सुलभ, सहज बनाउँदै कार्यपालिकामा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नभएको स्थानीय सरकारको संरचनालाई विना काम दलीय भाग बन्डामा विभाजन हुन नदिने गरी करारनामा गरिएको भएपनि यस अघि २०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष विजयी भएको थियो तर कार्यपालिकामा बहुमत सदस्य नेपाली काँग्रेस भएका कारण काम गर्न असहज भएको निवर्तमान गाउँपालिका अध्यक्ष प्रेम बुढाको प्रतिक्रिया छ । यस पालिको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष विजयी भएको भए पनि बहुमत कार्यपालिका सदस्य भने नेकपा एमालेले जितेको छ । विगतमा नेपाली काँग्रेसले जस्तो भूमिका नेकपा एमालेले निर्वाह गरेको खण्डमा गाउँपालिकाको विकासमा समस्या हुने देखिएको छ । नेकपा एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकोले अनावश्यक विषयहरूमा खबरदारी गर्दै जनताको पक्षमा विकास र समृद्धिको काम गर्ने एमालेका एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार