परिणाममुखी बजेट ल्याउन सुझाव

सुर्खेतः कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन शुरु भएको छ । मंगलवार बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् ।
बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । ‘विगतमा अध्यादेशबाट बजेट ल्याइयो, ससाना टुक्रे योजनाका लागि बजेट केन्द्रीत गरियो’, उनले भने, ‘विकास गर्न नभई विकास खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रह्यो, यसपटक विगतका ती श्रृङ्खलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुनेछ ।’ नेता कँडेलले सरकारले विगतका गल्ती सुधारेर परिणामुखी बजेट ल्याएमा प्रतिपक्षी दल सहयोग गर्न तयार रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णा शाहले संघीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । संघीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरुप प्रदेश सरकारले काम गर्न नसकेको उनको भनाइ छ । ‘चार वर्षको अवधिमा केही सफलता पनि मिलेको छ, कतिपय काम अधुरै छन’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले केही नगरेको होइन, थुप्रै विकास निर्माणका कामहरू सम्पन्न भएका छन्, थुपै्र ऐनकानून, कार्यविधिहरू बनेका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’
नेपाली कांगे्रसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबीच छलफल र सहकार्य गर्न कांग्रेस सधैँ तयार रहेको धारणा राखे । प्रतिपक्षीलाई विश्वासमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिँदै श्रेष्ठले भन्नुभयो, ‘विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर नयाँ बजेट ल्याऊँ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशिला शाहीले कर्णाली प्रदेशमा भ्रष्टाचार मौलाएको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार