
दैलेखः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै यहाँका स्थानीय तहका कार्यपालिकामा कसको कहाँ बहुमत भन्ने कुराको चर्चा हुन थालेको छ । स्थानीय सरकार सञ्चालनमा कार्यपालिका बहुमत नपुगे प्रमुखले गर्ने निर्णयहरू कार्यान्वयन नहुने समस्याहरू विगतदेखि नै देखिने गरेका छन् ।
दैलेखका ११ वटा स्थानीय तह मध्य नेपाली काँग्रेसले प्रमुख जितेका पाँच स्थानीय तह मध्ये केही स्थानीय तहमा सरकार सञ्चालनका लागि उक्त पार्टीको प्रस्ट बहुमत देखिदैन् । दुई वडा सहित गाउँपालिका अध्यक्ष÷ उपाध्यक्ष काँग्रेसले जितेको भैरवी गाउँपालिकामा कार्यपालिका एमालेको बहुमत प्रस्ट देखिन्छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष÷ उपाध्यक्ष जितेको थियो । गाउँ कार्यपालिकामा नेपाली काँग्रेस बहुमत रहेकाले आफूले चाहे अनुसार कामहरू गर्ने नपाएको तत्कालीन गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताउँदै आएका थिए ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा सात वडा रहेको भैरवीमा १,४,५,६ र ७ वडामा अध्यक्ष सहित बहुमत सदस्य एमालेले जितेको छ । एमालेले जितेका वडाहरूमा २२ जना प्रतिनिधि रहेका छन् भने काँग्रेसले जितेका गाउँपालिका सहितका २ वडामा १५ जना प्रतिनिधि रहेका छन् ।
१५ सदस्यीय गाउँ कार्यपालिका रहेको भैरवीमा एमालेका ११ जना र काँग्रेसका ४ जना कार्यपालिका सदस्य रहेका छन् । कार्यपालिका सदस्यको गणित अनुसार भैरवीमा स्थानीय सरकार सञ्चालनका लागि काँग्रेस अल्पमतमा देखिन्छ ।
गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले जितेको यहाँको नौमूले गाउँ कार्यपालिकामा उक्त पार्टीको कार्यपालिकामा बहुमत छैन । कार्यपालिका निर्वाचनमा एमाले र काँग्रेसले गठबन्धन गरी सदस्य बाड फाट गरेका छन् ।
नौमूले गाउँ कार्यपालिका १६ सदस्यीय रहेको छ । १६ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेस ८, नेकपा एमाले ४, एकीकृत समाजवादी ३ र नेकपा माओवादी केन्द्रका १ सदस्य रहेका छन् ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष जितेको भगवतिमाई गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत रहेको छ । १५ सदस्यीय गाउँ कार्यपालिका रहेको भगवतिमाईमा काँग्रेसबाट ११ जना, समाजवादीबाट ३ जना र माओवादीबाट १ जना सदस्य रहेका छन् ।
७ वडा रहेको भगवतिमाई गाउँपालिकामा नेकपा एमाले एउटा पनि वडा अध्यक्ष जितेको छैन । ७ वडा मध्ये भगवतिमाई गाउँपालिकामा एमालेले ४ जना सदस्य मात्र जितेको छ ।
काँग्रेसले नगरपालिका प्रमुख÷उपप्रमुख जितेको चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर कार्यपालिकामा काँग्रेसको प्रस्ट बहुमत देखिदैन् । १९ सदस्यीय नरग कार्यपालिका रहेको चामुण्डामा काँग्रेसका ९ जना, मजदुर किसान पार्टीका ६ जना र एमालेका ४ जना सदस्य रहेका छन् ।
पाँच स्थानीय तहमा
एकल बहुमत
जिल्लाका पाँच वटा स्थानीय तहमा प्रमुख जितेको पार्टीको एकल बहुमत रहेको छ । अध्यक्ष÷उपाध्यक्ष एमालेले जितेको गुराँस गाउँ कार्यपालिकामा एमालेकै एकल बहुमत रहेको छ ।
१६ सदस्यीय गाउँ कार्यपालिका रहेको गुराँसमा एमालेका १४ जना सदस्य रहेका छन् । उक्त गाउँ कार्यपालिकामा नेपाली काँग्रेसबाट १ जना र माओवादी केन्द्रबाट १ जना सदस्य रहेका छन् ।
डुङ्गेश्वर गाउँपालिकाको गाउँ कार्यपालिकामा पनि नेकपा एमालेको एकल बहुमत रहेको छ । गाउँपालिका अध्यक्ष ÷उपाध्यक्ष जितेको एमालेको कार्यपालिकामा १२ जना रहेका छन् । डुङ्गेश्वरमा काँग्रेसबाट १ जना र माओवादी केन्द्रबाट १ जना कार्यपालिकामा सदस्य रहेका छन् ।
ठाँटिकाँधमा गाउँपालिका अध्यक्ष जितेको नेपाली काँग्रेसको कार्यपालिकामा एकल बहुमत रहेको छ । गाउँ कार्यपालिकामा काँग्रेसका ९ जना, एमालेका ३ जना र माओवादी केन्द्रका २ जना गरी १४ सदस्यीय कार्यपालिका चयन भएको छ ।
आठविस नगरपालिकामा नगरपालिका प्रमुख÷उपप्रमुख जितेको एमालेको नगर कार्यपालिकामा समेत बहुमत रहेको छ । १८ सदस्यीय कार्यपालिका रहेका आठविसमा एमालेका १५ र नेपाली काँग्रेसका ४ जना सदस्य रहेका छन् ।
महाबुमा अध्यक्ष÷उपाध्यक्ष जितेको नेपाली काँग्रेसको गाउँ कार्यपालिकामा एकल बहुमत रहेको छ । कार्यपालिकामा काँग्रेसबाट ९ जना, एमालेबाट १ जना र माओवादी केन्द्रबाट २ जना गरी १२ सदस्यीय कार्यपालिका चयन गरिएको छ । बाँकी रहेका दुल्लू नगरपालिका र नारायण नगरपालिकामा यही जेठ १८ गते कार्य पालिकाको निर्वाचन हुने जनाइएको छ ।










