
जेठ १९, दैलेख
जिल्लाको भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीले आफुहरु जनताको चाहाना अनुसार काम गर्ने बताएकी छन् । नवनिर्वाचित अध्यक्ष शाहीले जनताले यहाँको विकासका लागि आफुलाई स्थानीय सरकार प्रमुखमा विजयी गराएका र जनताले दिएको जनमतका आधारमा भैरवीको बिकासका लागि काम गर्ने बताइन् ।
अध्यक्ष शाहीले गाउँपालिकामा नि भ्रष्टचारको नीतिलाई अवलम्बन गर्दै जाने बताईन् । ‘स्थानीय तहमा भ्रष्टचार हुन दिदैनौँ, महिलाले चलाएको स्थानीय तहबाट नि भ्रष्टचार नीतिलाई अगाल्दै एक उदाहरणीय काम गछौँ’, ।
उनले स्थानीय तहमा महिलामुखी कार्यक्रमलाई केन्द्रविन्दुमा राखेर काम गर्दै जाने बताइन् ।
अहिले पनि ग्रामिण वस्तिहरुमा महिला पछि परेका छन्, उनीहरुको सशक्तिकरणका लागि काम गर्ने अध्यक्ष शाहीको भनाई छ । ‘खास गरी दुर्गमका गाउँहरुमा दलित महिला पछि परेका छन्, पहिलेका दिनमा भन्दा पछिल्लो समय केही जनचेतना जागेको छ, सरकारले दलित महिलाहरुलाई आरक्षणको कोटा दिदै आएको छ, पिछडिएका समुदायलाई जागरुक गर्न लाग्छौं’, उनले भनिन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भए पछि आफुले गाउँपालिका भित्रका गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष शाहीको भनाई छ । गाउँपालिकाले नागरिकको सहजताका लागि नगरवस सञ्चालनमा ल्याउँने निर्णय समेत गरेको छ ।
काममा पारदर्शिता
ल्याउँछौं ः उपाध्यक्ष भण्डारी
यस्तै गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले स्थानीय तहमा हुने कामहरुमा पारदर्शिता ल्याउँने बताएकी छन् । उनले भैरवी गाउँपालिकामा–३ को वडा अध्यक्ष हुँदा आफुले जनताको पक्षमा प्रभावकारी काम गरेको बताईन् ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत सम्पन्न कामहरुको बिश्लेषण गर्दै वडाले पनि सिकाई गरेको छ । हरेक विकासका कामहरु सुरु गर्नुपूर्व योजना तर्जूमा बैठक बस्ने, योजनाको प्रभावकारीताको बिषय छलफल गर्ने यस्तो प्रक्रियाले विकासका कामहरु गर्दा प्रभावकारीता देखिएको छ ।
बिशेष गरेर ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानीको निकै ठूलो समस्या भएका जनताहरुको समस्या समाधानका लागि प्रभावकारी काम गरेको छ । आयआर्जनका लागि तरकारी खेती सञ्चालन गरेको छ । सोलार लिफ्ट मार्फत पनि गाउँपालिका र परियोजनाको सहयोगले खानेपानी सुविधा पुगेको छ । यो प्रभावकारी काम हो ।
युवाहरु अहिले तरकारी खेतीमा सक्रिए देखिएका छन् । गाउँपालिकाको देखिने काम भनेको नै ग्रामिण जलस्रोत व्यवस्थापनको काम हो । पानीका लागि रातभर जागराम बस्नुपर्ने अवस्था समाधान भएको छ।
अनियमितता आफु पनि गर्दै र अरुलाई पनि गर्न दिदैन जनताको काम छिटो छरितो हुनुपर्दछ । ५० हजारको योजना ल्याएका उपभोक्ताहरु रकम भुक्तानीका लागि तीन दिन सम्म बस्नुपर्ने अवस्था समाधान गर्ने छौं ।
न्याय समिति र अनुगमन समितिमार्फत सञ्चालन भएका सवै कामहरुमा पारदर्शिता कायम गर्ने भनेर मैले पनि आफ्नो कार्यकक्षमा जनकरारपत्र टाँसेको छ ।
हामी निर्वाचित भईसकेपछि सबै नागरिकहरु समान हुन सबैलाई समान व्यवहार गरेर सुशासन र पारदर्शिताका कामहरु सञ्चालन गर्ने प्रतिबद्धता गरेका छौं । प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्छौं ।










