
दैलेख : जिल्ला समन्वय समिति दैलेखमा तीन दलीय गठबन्धन बनेको छ । जेठ २६ गते (बिहिवार) जिल्ला समन्वय समिति दैलेखको नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन गर्ने निर्णय भएको हो ।
तीन दलका प्रमुखको आइतवार बसेको बैठकले समन्वय समितिमा तीन वटा पार्टीको लागि सम्मान जनक रूपमा सिट बाडफाड गरेर समन्वयमा गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गरिएको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनले जितेका पालिकाहरूमा एक आपसमा सहयोग गर्ने, गठबन्धनलाई उचाइमा पु¥याउदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजाने निर्णय गरिएको छ ।
समन्वय समिति पदाधिकारी छनोटका लागि दैलेखमा तीन दलिए गठबन्धनको बहुमत रहेको छ । यहाँका ११ स्थानीय तह मध्ये नेपाली काँग्रेसले प्रमुख÷उपप्रमुख सहित ९ पद जितेको छ । माओवादी केन्द्रले २ प्रमुख र समाजवादीले १ उपप्रमुख जितेको छ ।
दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले प्रमुख÷उपप्रमुख सहित १० पद जितेको छ । समन्वय समिति पदाधिकारी चयनका लागि एमालेलाई २ मत आवश्यक देखिन्छन् ।
यस्तै, तीन दलीय गठबन्धनले समन्वय समितिका लागि प्रमुख नेपाली काँग्रेसलाई दिने गरी सहमति गरेको जनाएको छ । माओवादी केन्द्र दैलेखका संयोजक प्रेम कटुवालले काँग्रेसलाई समन्वय प्रमुख सहित १ सदस्य, माओवादी केन्द्रलाई उपप्रमुख सहित २ सदस्य र समाजवादीलाई ४ सदस्य दिने गरी गठबन्धनका दलहरू बीच सहमति भएको बताए ।
प्रमुखमा स्वतन्त्र उम्मेदवारी
२६ गते हुने समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी परेको छ । प्रमुख पदका लागि नेपाली काँग्रेसका उपसभापति नमराज शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तीन दलीय गठबन्धका तर्फबाट समन्वय समितिको प्रमुखमा दुर्गा कुमारी श्रेष्ठले उम्मेदवारी दिएकी छन् भने उपप्रमुखमा एकीकृत समाजवादीका शान्ति शाहीले उम्मेदवारी दिएकी छन् ।
नेकपा एमालेले भने जिल्ला समन्वय समितिको प्रमुख पदकाका लागि उम्मेदवारी नदिएको जनाएको छ । समितिको उपप्रमुखका लागि एमालेका केशव बहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यस्तै, समितिको सदस्यहरुमा अङ्ग बहादुर शाही, पदमलाल जैसी, फत्तबहादुर डाँगी र दिलबहादुर शाही स्वतन्त्र उम्मेदवारी दिएका छन् । समन्वय समितिको महिला सदस्यमा कविता कुमारी गिरी, कोकिला कुमारी खड्का, दुर्गा कुमारी थापा र पुर्णा विक, सरस्वती रोकाय र सुनकला दमाईले उम्मेदवारी दिएका छन् । समितिको दलित वा अल्पसंख्यक सदस्यहरुमा तुल्छा विक, लोक बहादुर शार्कीले उम्मेदवारी दिएका जनाइएको छ ।
नेपाली काँग्रेसबाट जिल्ला समन्वय प्रमुखका उम्मेदवार दुर्गा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाहीको उम्मेदारी उपर उजुरी गरेको भएपनि समयमै उजुरी नआएको भन्दै मुख्य निर्वाचन अधिकृतले उजुरी दरपीठ गरे संगै निर्वाचन रोचक हुने भएको छ ।
निर्वाचनको तथ्याङ्ककमा समाजवादी देखिए पनि गठबन्धनबाट उम्मेदवारी दिएका उपप्रमुख पदका उम्मेदवार माओवादीका भएको जनाइएको छ ।











