विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने

काठमाण्डौँ : मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसै वर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन् । यो वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् ।
यो वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौँबाट पश्चिमका क्षेत्रमा अत्यधिक वर्षा हुने मौसमविद्हरूको आँकलन छ । त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले यो वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद् व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पु¥याउनुपर्ने बताइन् ।
‘त्यसको तथ्याङ्क र विगतका घटनालाई लिँदै आएर त्यस्ता घटना फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रूपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ । तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि पनि विशेष बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ ।’
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताए ।
‘सरकारको मातहतमा विपद् व्यवस्थापन प्राधिकरण नै छ । त्यसो हुँदा तयारी गरेको होला भन्ने हो । सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ’ उनले भने, ‘तयारी आफ्नो ठाउँमा छ । खासगरी मनसुनबाट हुने क्षति अनुमान गर्नै सक्दैनौँ । कमभन्दा कम क्षति हुनेगरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ ।’
नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्यधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए ।
विपद्का सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उनको भनाइ छ । सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाए । विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तहले पनि पर्याप्त बजेट विपत् व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताए ।
‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हानेर हो । वातावरणीय प्रभावको मूल्यांकन छैन । जता पनि डाँडा कोतरेको छ । जता पनि करेसाबाट बाटो लगेको छ । हिउँदमा करेसाबाट बाटो खनेको छ । बर्खामा घर गएको छ । त्यसकारणले यस्ता खालका विकास निर्माणका काममा पनि हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ’ उनले भने ।
‘डोजर विकासको अन्त्य गर्ने । सरकारले सचेतना फैलाउने । सरकारले बजेट पर्याप्त विनियोजन गर्ने । सरकारले तत्काल रेस्पोन्स गर्नका लागि रेस्पोन्स टिम गठन गर्ने । पूर्वतयारी बिल्कुल देखिदैन । सरकार पूर्वतयारी गर्दैन । स्थानीय तहको बजेटको ७० प्रतिशत बजेट डोजरमा जान्छ । प्रत्येक स्थानीय तहले क्वीक रेस्पोन्सका लागि तयार गर्ने ।
स्थानीय तहले सामाजिक संघसंस्थाहरूसँग छलफल गर्ने । विपद् व्यवस्थापनका लागि एउटा टिम बनाउनु पर्छ । मेरो आग्रह, स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ । पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् र त्यसमा बजेट पर्याप्त राख्नुस् ।’
यस्तै, जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यो वर्ष प्रदेश १ को हिमाली भूभाग र मधेश प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए ।
‘लामो समयको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले र भारतको मौसम विभागले, दक्षिण एशियाको मौसम विभागले जुन प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र काठमाडौंबाट पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेश प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ। यो वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ’ उनको भनाइ छ ।
विज्ञ उप्रेतीले ७ सय ५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्वतयारी थाल्नुपर्ने बताए । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार