सरकारी बजेटमा अन्तर जिल्ला भ्रमण

  • “नागरिक भन्छन, ‘गरिब जनता औषधि नपाएर उपचार बिहीन हुनु परेको छ, पाँच लाख भ्रमणमा सकाउनु भन्दा गरिवको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो, गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियो’,”

  • दैलेख : देशमा आर्थिक संटक गहिरिँदै गएको भन्दै संघीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मित्यव्यताको नीति अपनाएको भए पनि दैलेखको नारायण नगपालिका–१ का जनप्रतिनिधि र कर्मचारी सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा निस्केका छन् ।
    बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचार÷प्रसार गर्न नगरपालिका–१ ले आर्थिक वर्ष ०७८÷०७९ विनियोजन गरेको पाँच लाख बजेट सकाउन नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल सहित अन्य कर्मचारीसँगै जनप्रतिनिधिहरू लाम्बद्ध भ्रमणमा निस्केका हुन् ।
    आर्थिक वर्ष सकिनै लाग्दा यहाँ आएको विकासे बजेट कार्यान्वयन तर्फ ध्यान दिनु भन्दा जनप्रतिनिधि र कर्मचारी लामबद्ध भ्रमणमा निस्किनु पाँच लाख सकाउन बाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीय दीपक श्रेष्ठले बताए ।
    उनले भने, ‘यहाँका गरिब जनता औषधि नपाएर उपचार बिहीन हुनु परेको छ, पाँच लाख भ्रमणमा सकाउनु भन्दा गरिवको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो, गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियो’,
    दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले संघीय सरकारले आर्थिक मित्यव्यताको नीति ल्याएका वेला फजुल खर्चका लागि भ्रमण लगायतका आवश्यक्ताहीन कामहरू गरिनु गलत भएको बताए । ‘भ्रमण जिल्लालाई के फाइदा हुन्छ, भ्रमणको उद्देश्य के हो ?, सरकारको नीति विपरीत कोही पनि जान पाइँदैन’, उनले भने ।
    कर्मचारी भ्रमणमा जाँदा प्रशासनलाई जानकारी गराउनु पर्ने भए पनि को कहाँ कसरी भ्रमणमा गए आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई छ ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लेले प्रशासनलाई कुनै पनि जानकारी गराउनु नपर्ने बताए । ‘हाम्रो हाकिम भनेको नगर प्रमुख हो, मैले भ्रमणमा निस्कने कुरा नगर प्रमुखलाई जानकारी गराएको छु, प्रशासनलाई पर्दैन’,मल्लले भने ।
    वडा नम्बर १ का वडा अध्यक्ष शन्देश श्रेष्ठले भ्रमण बजेट वडा कार्यालयको नभई नगरपालिकाको भएको बताएका छन् । उनले नगरको पाँच लाख बजेटबाट नयाँ केही सिक्नका लागि भ्रमणमा निस्केको बताए । ‘अन्य कुरा जानकारी छैन, विस्तृत जानकारीका लागि वडा सचिवलाई बुझ्नु पर्छ’, बडा अध्यक्ष श्रेष्ठले भने । वडा सचिव गोपाल क्षेष्ठ भने सम्पर्कमा आएनन् ।
    भ्रमण बजेट वडा कार्यालय वा नगरपालिकाको भन्ने विषयमा कुरा बाझिएको छ, भ्रमणमा रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले वडाको बजेट भएको बताए । वडा अध्यक्षले सन्देश श्रष्ेठले भने नगरको बजेट रहेको बताए ।
    नगरपालिका–१ का तत्कालीन वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारका लागि अन्तर जिल्ला भ्रमणका गर्न बजेटको व्यवस्थापन गरेको बताए ।
    ‘अन्तर जिल्ला भ्रमणका लागि पाँच लाख बजेटको थियो, भ्रमणमा जाँदा यहाँका धार्मिक ऐतिहासिक सम्पदा, कला संस्कृतिको पोस्टर, फोटो लगायतका सामग्री लिएर जाने भन्ने योजना थियो, नयाँ आएका जनप्रतिनिधिले के कसरी कार्यक्रम बनाएर भ्रमणमा निस्किए थाहा भएन’, श्रेष्ठले भने ।
    यता, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पूर्व निरधारीत कार्यक्रम भएकाले रोक्न नसकिएको बताए । उनले हाकिमलाई बिदा स्वीकृति नदिएको बताए । ‘हाकिमलाई बिदा स्वकृती गरिएको हैन मिल्दैन पनि उहाँ जाँदा जानकारी गराउनु भएको हो’, नगर प्रमुख शर्माल भने ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार