दैलेखको छुर्पी अमेरिका र युरोप सम्म

  • भारत जानुपर्ने बाध्यता भएका युवाहरू गाउँमै रोकिए

  • दैलेख: दैलेख सदरमुकामको पश्चिमी क्षेत्रमा पर्ने भैरवी गाउँपालिकाका किसानहरूले उत्पादन गरेको छुर्पी अमेरिका सम्म निर्यात भएको छ ।
    दैलेख र कालिकोटसँग सिमाना जोडिएको उच्च भू–भागमा रहेको दैलेखको भैरवी गाउँपालिका वडा नं. ७ मान्मका किसानहरू अहिले गाउँमै डेरी उद्योग सञ्चालन गरेर उद्योगबाट उत्पादन भएको छुर्पी अमेरिका सम्म बिक्री गर्न सफल भएका छन् । दैलेखमा उत्पादन भएको छुर्पी इटहरी पुग्छ, इटहरीमा संकलन केन्द्र छ । देशभरको छुर्पी संकलन हुन्छ र त्यहीबाटै अमेरिका लगायत युरोपियन मुलुकहरूसम्म पुग्ने गरेको छ । फुटकर १ हजार प्रति किलोको बिक्री हुने गरेको छ, भने होलसेलमा ९ सय रुपैयाँको १ केजी दैलेखबाट पठाउने गरेको कृषक परशुराम पौड्यालले बताए । गाउँमै ४ वर्षदेखि छुर्पी उद्योग सञ्चालनमा छ, उद्योगमा रोजगारी सँगै ५४ किसानहरूले उन्नतगाई र भैँसीको दूध डेरी उद्योगमा बिक्री गरेर आम्दानी शुरु गरिसकेको पौड्यालको भनाई छ ।
    गाउँमा जंगलप्रशस्त हुनुका साथै बाऊ बाजेका पालादेखिनै भैँसी पालन गर्ने यहाँको मुख्य पेसा थियो, उति वेला घ्यू मात्र बनाउने र घ्यू पनि सुर्खेत सम्म लगेर बिक्री गर्नुपर्ने समस्या अहिले समाधान भएको स्थानीय कृषक चक्रपाणी पौड्याल बताउँछन् ।
    ७९ बर्षे पौड्याल आफ्नो पालनको दुःख सम्झँदै भन्छन्, ‘ऊ वेला र अहिलेको जमाना धेरै फेरिएको छ, ऊ बेलामा घ्यूूको मात्र आशा हुन्थ्यो मोही सबै फाल्नु पथ्र्याे अहिले नयाँ प्रविधि आयो, सबै काम लागेको छ, आम्दानी पनि भएको छ ।’
    उद्योग सञ्चालनकालागि तीन वर्ष अघि कर्णाली प्रदेश सरकारको सहयोगमा उन्नतगाई किसानहरूलाई प्रदान गरिएको थियो । चार वर्ष पहिले चार जना युवा कृषहरुले उद्योग खोल्ने तयारी थालेका थियौँ पछि प्रदेश सरकारले ५४ वटा उन्नत गाई वितरण गरेपछि उद्योग खोल्न सहज भएको मजुवा भैसी पालक किसान दीप प्रसाद पौड्यालले बताए ।
    भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले समेत किसानहरूलाई आर्थिक उपार्जनमा थप सहयोग पुराउँदै दूध उत्पादक किसानहरूलाई बाल्टी वितरण सँगै यो वर्ष छुर्पी सुकाउने घर, दूध पकाउने आधुनिक चुल्हो निर्माण गरिदिए पछि निकै सहज भएको छ ।
    अन्य जिल्लाका किसानहरूले समेत उद्योगमै आएर छुर्पी उत्पादन तालिम लिएको किसान दीप प्रसार पौड्याल बताउँछन् । गाउँपालिका भरी अहिले छुर्पी उत्पादन सँगै, घ्यूू निर्माण गरी गाउँमै आम्दानी लिनका लागि तीन वटा डेरी उद्योगहरू सञ्चालनमा आएका छन् ।
    भैरवी गाउँपालिकाको मान्ममा मान्म डेरी उद्योग, भक्त्तडाँडा डेरी उद्योग र उज्यालो साना किसान सहकारी मार्फत उज्यालो डेरी उद्योग सञ्चालनमा आएपछि किसानहरूले राम्रो आम्दानी लिन सफल भएको र भारत जानुपर्ने बाध्यता भएका युवाहरू गाउँमै रोकिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका चक्र भण्डारीले बताए ।
    मान्मका किसानहरूले उत्पादन गरेको छुर्पी र घ्यू बजार सम्म पुराउनका लागि सडक मुख्य चुनौतीका रूपमा रहेको छ । युवाहरूले नयाँ प्रविधि अपनाउने र गाउँमै रोजगारी दिने उद्देश्यले डेरी उद्योग सञ्चालन गरेको भएपनि उद्योग सम्म आउने सडक प्रभावकारी नभएका कारण समस्या भएको उद्योग सञ्चालनको अभियान थालेका युवा मोहन पौड्याल बताउँछन् ।
    यहाँका किसानहरूले हजारौँ बुटा किभि उत्पादन सुरु गरेका छन् । आलु, मुला, काउली, प्रशस्त मात्रामा उत्पादन हुन्छ । किसानहरूको उत्पादनलाई बजार सम्म लिने सडक प्रभावकारी नभएकोले स्थानीय र प्रदेश सरकारले जाँगरिला कृषकहरूको उत्पादनलाई बजारीकरण गरिदिनुपर्ने माग किसानहरूको रहेको छ ।
    भैरवी गाउँपालिकाका अधिकांश युवाहरू भारतमै मजदुरी गर्नुपर्ने बाध्यता विगत देखिनै कायम छ । यसै बाध्यतालाई मध्यनजर गरेर स्थानीय तहको निर्वाचन २०७४ सम्पन्न भएसँगै गाउँमै आर्थिक उर्पाजनका गतिविधिहरू बढाउने अभियान थालनी गर्दै गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा आर्थिक उपार्जनका कामहरू सुरु गरिएको र राम्रो प्रभाव परेको निवर्तमान गाउँपालिका अध्यक्ष प्रेम बुढाले जानकारी दिएका छन् ।
    गाउँमा खानेपानीको ठूलो संकट समाधान गर्नका लागि सोलार लिफ्ट मार्फत घरमै खानेपानी व्यवस्थापन गरिएको छ । खेर गएको पानीले करेसाबारीमा तरकारी उत्पादन गर्दै अहिले युवाहरू व्यावसायिक किसान भएको बुढाले बताए ।
    भैरवी गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र गाउँपालिकाको सहयोगमा यो वर्ष ११ वटा खानेपानी योजना निर्माण गरिएका छन् जसबाट एक हजार पाँच सय बढी घरधुरी लाभान्वित भएका छन् ।
    वडा नं. ६ मा रहेको काउले ओडार तुषारे खाने पानी तथा सरसफाइ योजना, वडा नं. १ को धुरस्याधारा खोला सरसफाइ योजना र त्रिपण्डी खानेपानी तथा सरसफाइ योजना निर्माण सँगै पूर्ण सरसफाइ वडा घोषणा गरिएको छ । जसबाट २ सय २४ घरधुरी लाभान्वित भएका छन् ।
    गाउँपालिकाले गुरु योजना निर्माण सँगै काम गरेकोले कामको प्रभावकारिता भएको, महिलाहरूको क्षमता विकास भएको, लसुनको बुटा समेत नहुने स्थानमा लटरम्म तरकारी उत्पादनभएको, खानेपानीको हाहाकार भएको बस्तिमा शुद्ध पानी उपलब्ध भएको भैरवी गाउँपालिका निवर्तमान उपाध्यक्ष पदम कुमारी विष्टले बताइन् ।
    गाउँमै योजनामर्मतका कामहरू आएपछि स्थानीयहरूले रोजगारी पाएका छन् । भारत जानुपर्ने बाध्यतामा रहेकी भैरवीगाउँपालिका वडा नं. ७ की सुनिता कठायत अहिले गाउँमै मिस्त्रीकाम गर्न सुरु गरेकी छन् । भैरवी गाउँपालिका–७ पान पोखराका ७ जनायुवाहरू अहिले योजनाका काम पाएपछि गाउँमै रोकिएको यज्ञ रिजाल बताउँछन् ।
    नेपालगञ्ज देखि आएको तारकारी किनेर खानुपर्ने समस्या समाधान भएको भैरवी १ जलजलेकी रूपमा थापा बताउँछिन् । भैरवी गाउँपालिका वडा नं. १ जलजले र वडा नं. ३ सहिदगेट टोलमा गत वर्ष र यो वर्ष गरेर १ सय २१ वटा प्लाष्टिक घर निर्माण सँगै किसानहरूले मौसमी र बेमौसमी तरकारी उत्पादन सुरु गरी आय आर्जन गर्नु सुरु गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार