संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौंः प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिको आइतवारको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको भए पनि उनि बैठकमा उपस्थित नभएका हुन् ।
देउवा बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको अनुपस्थित बारे समितिकी सभापति पवित्रा निरौला खरेलले प्रश्न उठाइन् । उनले प्रधानमन्त्रीले समितिको अपमान गरेको बताएपछि कांग्रेस सांसद पुष्पा भुसाल प्रतिरक्षामा उभिएकी हुन् ।
समितिकी सभापति खरेलले समितिको बैठकमा उपस्थित नभएर प्रधानमन्त्रीले समितिको अपमान गरेको बताइन् । ‘सभापतिले भनिन प्रधानमन्त्रीले समितिको अपमान गर्नुभयो,’ उनले समितिको बैठक सुरु हुनेबित्तिकै भनिन्, ‘समयमै खबर नगर्नु भनेको अपमानै हो ।’
यदी प्रधानमन्त्रीले अनुपस्थित हुने जानकारी गराएको खण्डमा बैठक नराखिने समेत उनले बताइन् । सभापतिले प्रधानमन्त्रीको बारेमा प्रश्न उठाएपछि कांग्रेस सांसद पुष्पा भुसालले प्रतिरक्षा गरिन् । भुसालले भनिन्, ‘भ्रमण तय भएपछि आउँछु भन्नू भएको छ । अहिले भ्रमण तय भइनसकेकाले नआउनु भएको हो ।’
त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल पनि बैठक सुरु नहुँदै बाहिरिएका थिए । उनी सिंहदरबारस्थित बैठकस्थलमा भने पुगेका थिए । यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो । शुक्रबारको बैठकमा विवादित बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे छलफल भएको थियो ।
बैठकमा नआउनुको कारण सोधिने
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् । उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय अभ्यासमा उचित नदेखिएको ध्यानाकर्षण पनि गराएको बताइन् ।
उनले भनीन्, ‘अमेरिका भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि सम्माननीय प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा उहाँले अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनु भयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरियो । अनुपस्थित हुने कुरा हाम्रो अभ्यासमा उचित नदेखिएको कुरालाई ध्यानाकर्षण गराउँदछु ।’
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएका थिए भने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीको व्यस्तताका कारण आउन नसकेको बताएका थिए । लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदले असहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार