
दैलेख : बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका स्थानीय सरकारका प्रमुखहरुले पदभार ग्रहण गर्दै गर्दा गाउँका जनताको सहजताका लागि भन्दै विभिन्न निर्णय गरे ।
११ स्थानीय तह मध्ये चार वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दैलेखमा गाउँका सरकार प्रमुखले निर्वाचित भैसके पछि पदभार ग्रहण गर्दा गरेका निर्णयहरु कार्यान्वयन तर्फ उन्मूख भएका देखिन्छन् ।
पदभार ग्रहण गर्दा गरिएको यहाँकोे चामुण्डाविन्द्रासैनी नगरपालिकाका निर्वाचित नगरप्रमुख गणेश कुमार शाहीले स्थानीय सरकार सञ्चालनमा नागरिकका गुनासा समस्या छरितो माध्यमबाट सम्बोधन गर्नका लागि नगरपालिकाले निःशुल्क टोल फ्रि नम्बर संचालनमा ल्याईने निर्णय गरेका थिए ।
सोही निर्णय अनुसार नगर प्रमुख शाहीले केहि दिन अधि नगरपालिकामा नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका छन् ।
टोल फ्रि सेवा सञ्चालन पछि स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले आम नागरिकलाई आग्रह गरेका छन् ।
उनले नगरको विकास र नगरपालिकाका नागरिकको समस्या समाधानका लागि जहिलेसुकै तदारुक्ता देखाउँने बताउँदै स्थानीय तहको विकास र समृद्धिका बिषयमा हातेमालो होस भन्ने चाहाना आफुले राखेको बताए ।










