
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्ट पारेका हुन् ।
मंगलवार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै उनले छिमेकसँगको सम्बन्ध सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए ।
अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दा मात्रै देशहरूबीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताका क्रममा पटकपटक राखेको पनि स्मरण गराए ।
उनले भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्परिक सम्मान र लाभको आधारमा छिमेक सम्बन्ध बढाउनु पर्छ । छिमेकसँगको सम्बन्धमा समस्या छन् भने हेपिएको महसुस भइराखेको छ भने सम्बन्ध सुमधुर र आत्मीय हुँदैन । हामी आपसमा बोल्न नसक्ने अवस्थामा छौँ ।’
उनले भने ‘एक्काइसौं बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्ना सत्ता स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितको प्रश्नमा सौदावाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । भन्न खोजेका कुरा नबुझिने गरी प्रस्तुत भएर के हुन्छ ?’
उनले दुवै देशले मानेका सन्धि, सम्झौताले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकै भएको स्पष्ट पारे। उनले सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भू–भाग भएको चर्चा गरे ।
‘कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं । यो बिल्कुल यथार्थ हो । मैले अहिले भनिनँ भने पनि अलि पछि नेपालीले भन्नेछन् । यसमा हामीले अर्घेल्याइँ ग¥यौँ कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन ।
अनि कहिल्यै पनि उठाउने, कसैले पनि नबोल्ने अनि हाम्रो भौगोलिक अखण्डता, हाम्रो सीमा सम्बन्धी प्रश्न, हाम्रो सीमा यो हो । छलफल गरौं र यसलाई टुंग्याऔं । यो हाम्रो भू–भाग चाहिँ हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याइँ होइन । यो सम्बन्ध बिगार्ने कुरा पनि होइन’ उनले भने । अध्यक्ष ओलीले हामीले आफ्नो भू–गोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटकपटक दोहो¥याए ।










