
दैलेख : पचास वर्ष पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा फर्किने भएको छ । २०२८ साल अघिसम्म यहाँको कोत गढीमा रहेको तोप दैलेखमा रहेको नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनःगढिमा राखिने भएको हो ।
दैलेखमा रहेको नेपाली सेनाका गुल्मपति सेनानी विनोद चौलागाइले यहीँ असार ९ गते (विहिबार) सुन्दरी तोपलाई गढीमा पुनःपुस्थापना गर्ने कार्यक्रम रहेको बताए । उनले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताए ।
गुल्मपति चौलागाइले सुन्दरी तोप यहाँको ऐतिहासिक कोत गढीमा पुनःस्थापना गरिएपछि दैलेखको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने देखिएको बताए । २०२८ सालमा दैलेखको ऐतिहासिक कोत गढीमा राखिएका दुई वटा अर्गा र सुन्दरी तोप सुर्खेत पु¥याइएको थियो । सुन्दरी तोप पचास वर्ष पछि दैलेख फर्काइएको भए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।
पचास वर्ष पछि यहाँको नारायण नगरपालिकाको पहलमा पुस २० गते नेपाली सेनाको सहयोगमा दैलेख ल्याइएको तोप पुरानो स्थान कोत गढीमा राख्नुपर्ने भए पनि उतिवेला गढीको पुनःनिर्माणको काम सकिन बाँकी रहेको भन्दै तोपलाई यहाँ रहेको नेपाली सेनाको कालीदत्त गुल्ममा राखिएको थियो ।
संघीयता पछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातातिक सम्पदाहरू ल्याउनुपर्ने माग राख्दै आएपछि स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोपलाई दैलेख ल्याएसँगै गढीमा राख्ने तयारी भएको नारायण नगरपालिका–१ का निवर्तमान वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए ।
पचास वर्ष अघि दैलेखको कोत गढीमा रहेको सुन्दरी तोपको धार्मिक महत्व समेत रहेको जानकारहरू बताउँछन् । विजया दशमी टिकाको साइत तोप पट्काएर जनाइने र नागरिकहरूले तोपको साइत अनुसार दशंैको टिका लगाउने प्रचलन रहेको धार्मीक महत्व रहेको बुझिन्छ ।
दैलेखको ऐतिहासिक कोत गढी वि.सं.१८४६ साल तिर बहादुर शाहको नायवी कालमा बाइसे चौबिसे राज्य एकीकरण अभियान अन्तर्गत गोर्खाली सेनाले युद्ध प्रतिरक्षाका लागि कोत गढी सैनिक किल्लाका रूपमा निर्माण गरेको मानिन्छ ।
दैलेखमा पानी माथि आगो बल्ने ज्वाला क्षेत्र, सिञ्जा राज्यको सितकालिन राज्य दुल्लू, पुरातातिक महत्वको पञ्चदेव, दर्जनौँ देवल लगायतका पुराना ऐतिहासिक सम्पदाहरु रहेका छन् । यहाँका स्थानीय सरकारले पुराना सम्पदाको खोजीसँगै संरक्षण गरी पर्यटन प्रवद्र्धनमा चासो दिए यहाँको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।











