फोकल पर्सनलाई खोज उद्धार तालिम

दैलेख : दैलेखका ११ वटै स्थानीय तहमा रहेका विपद् फोकल पर्सन र जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिहरुलाई प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी तालिम सुरु गरिएको छ ।
बर्षायाम लगायत अन्य समयहरुमा हुने सबैखाले विपद्बाट नागरिकहरुलाई कसरी जोगाउन सकिन्छ र विपद्मा परेका नागरिकहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिम प्रदान गरिएको हो । सदरमुकाम दैलेख बजारमा तालिम सुरु गरिएको छ ।
विपद्मा परेका मानिसहरुका लागि सबैभन्दा पहिला खोज, उद्धार सँगै प्राथमिक उपचारको बिषय महत्वपूर्ण हुने भएकोले ११ वटै पालिकाबाट एक एक जना प्रतिनिधि सशस्त्र प्रहरी, नेपाली सेना, जनपथ प्रहरी लगायतलाई संयुक्त रुपमा तालिमको सुरुवात गरिएको हो ।
कर्णाली प्रदेश कानून मन्त्रालय, नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश र जिल्ला शाखा दैलेखको संयुक्त आयोजनामा तालिमको सुरुवात गरिएको कानुन मन्त्रालयका शाखा अधिकृत कृष्णा उपाध्यायले जानकारी दिएका छन् । प्रशिक्षणका लागि अमृता सापकोटा लगायतको टोली रहेको छ ।
तालिमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला, नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका अध्यक्ष भेषराज थापा, जिल्ला सभापति तथा केन्द्रीय सदस्य खेमराज केसी लगायतले विपदमा परेका नागरिकहरुलाई सवैभन्दा पहिलो उद्धार स्थानीय नागरिक र छिमेकीबाट हुने भएकोले स्थानीय नागरिकहरुले प्राथमिक उपचार गर्न जानेको खण्डमा बिपद्मा परेका मानिसहरुलाई सहजै पहिलोचरणको उद्धार गर्न सकिने र थप उद्धार र पहलका लागि सुरक्षा निकायहरुसँग सहजै जानकारी आदान प्रदान गरी छिटो छरितो उद्धार कार्यमा सहजता हुने बताएका छन् ।
गाउँमा समस्या भएमा फोकल पर्सनहरुले पहिलो उद्धारको काम गर्न सक्ने अवस्था आएमा अन्य समस्या समाधानका लागि सुरक्षा निकाय तत्कालै पुग्ने तयारी गर्नेगरी जिल्लाभर उच्च सुरक्षा सर्तकता अवलम्बन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिएका छन् ।
कर्णालीभर लगातार बर्षात भइरहेका कारण बिपद् जतिवेला पनि आइपर्न सक्ने भएकोले सबै नागरिकहरुले सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार