दैलेख : दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गले स्थानीय सरकार सञ्चालनमा आफुले जानेर गल्ती नगर्ने बताएका छन् । उनले आफू महाबुको विकासका लागि अन्तिम पटक स्थानीय सरकार सञ्चालनमा आएकाले पछिका पीढीले सम्झिन लाएक काम गर्ने बताए ।
पुरानो रूढीवादी परम्परा अझै कायम रहेको अध्यक्ष गुरुङ्गले बताए । उनले विकासे कामहरूमा आउने बजेट पुरानो पञ्चायत काल जस्तै रहेको बताए । अध्यक्ष गुरुङ्गले स्थानीय सरकारले पुरानो परम्परा फेरेर विकासे कामहरू नयाँ तरिकाले अघि बढाउन लाग्नु पर्ने धारण व्यक्त गरे ।
गुरुङ्गले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वृद्ध नागरिकले बैङ्कबाट लिन सास्ती भोग्ने गरेकाले घरमै पु¥याउने गरी काम अघि बढाउन लागेको बताए, त्यसका लागि गाउँपालिकाले निर्णय गरेको र प्रक्रिया छिट्टै सुरु गरिने बताए ।
अध्यक्ष गुरुङ्गले यस वर्षको बजेट अघिल्लो सरकारले विनियोजन गरेको र आगामी वर्षदेखि नयाँ तरिकाले यहाँको विकासमा लागि बजेट विनियोजन गरि जाने बताएका छन् । स्थानीय तहको मुख्य काम भनेको नागरिकलाई सेवा दिनु रहेको अध्यक्ष गुरुङ्गले बताए ।
उनले विकास भन्ने कुरा पहिलेदेखि हुँदै आएको भए पनि प्रभावकारी नदेखिएको बताए । ‘विकास भन्ने कुरा सधैँ हुँदै आएको छ, खोला जस्तै बगी रहन्छ विकास पनि त्यसै गरी बगेको छ, त्यो क्रम कहिले पनि छुटेको छैन, स्थानीय सरकारको प्रमुख दायित्व भनेको जनतालाई प्रभावकारी सेवा गर्नु हो’, गुरुङ्गले भने ।
अध्यक्ष गुरुङ्गले जनताले पछिसम्म सम्झने गरी महाबुको विकास गर्ने योजना आफूले बनाएको बताए । उनले अघिल्ला दिनहरूमा विकास गर्ने भन्दै कम बजेट दिने, बजेट अनुसारको काम नहुने भएकाले आगामी दिनमा विकास बजेट तीन लाख भन्दा तलको नदिने निर्णय गरेको बताए ।
‘तीन लाख भन्दा तलको बजेट नदिने भनेका छौं, ५० हजारको बजेटमा ५० प्रतिशत खान खोज्छन्, ५० प्रतिशतले त्यहाँको विकास के हुन्छ ?, पारदर्शी तरिकाले काम होस भन्नका लागि गाउँपालिकाले तीन लाख भन्दा तलको बजेट नदिने निर्णय गरेको छ’, उनले भने ।
‘तीन तहका सरकारले असारमा गर्ने विकास अर्थहीन देखिएको अध्यक्ष गुरुङ्गले बताए । बर्खामा निर्माण गरिने बाट–घाटा पानीले बगाएर लैजान्छ, अहिले असारमा प्रदेश सरकार मातहतका योजनामा काम हुँदै आएको छ, असारमा काम सुरु हुन्छ सबै पानीले भत्काएर लिन्छ त्यसको कुनै अर्थ रहेन’, अध्यक्ष गुरुङ्गले भने ।
उनले, स्थानीय तहमा बजेट आए पनि नीति अनुसार काम नहुने गरेको बताए । उनले भने, ‘पञ्चायतमा यति बजेट आएको भए स्वर्ग बनाउन सकिन्थ्यो, उवेला जनतामा पनि विकास प्रति चासो थियो, उवेला बनाएको बीस हजारका भवन अहिलेपनि उस्तै छन्, अहिले बीस लाखमा बनेका भवनमा गुणस्तर देखिदैनन्’,
उनले शिक्षाको विकासका लागि गाउँपालिकाले नीति बनाएर काम गर्ने बताएका छन् । बोल्नु भन्दा अघि काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो, परिवर्तीत व्यवस्था अनुसार महाबु गाउँपालिकालाई नमुना गाउँपालिका बनाएर हस्तान्तरण गर्ने आफ्नो लक्ष्य रहेको अध्यक्ष गुरुङ्गले बताए ।
उनले अन्य दुई तहका सरकारले गर्ने विकासे कामहरूमा स्थानीय सरकारलाई रेखदेखको जिम्मा दिनुपर्ने बताए । विकास बजेट आउँछ, असारमा काम सुरु हुन्छ, स्थानीय सरकारले राम्रो नराम्रो भएकोमा चासो देखाउन पाउँदैनन्, संघीय सरकारले सम्बन्धित पालिकामा हुने विकासे कामहरू सोही पालिकाको निरीक्षणमा गराइनु पर्छ’, गुुरुङ्गले भने ।










