काठमाण्डौँ : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
उनले मंगलबारकोे बैठकले छानबिन समितिका सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । सचिव अर्यालले सर्व सहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गरिने भएको जानकारी दिए ।
उनले मंगलबारको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेको बताए । सचिव अर्यालले अर्को बैठक बुधवार दिउँसो बस्ने जानकारी दिए ।
पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९÷८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहेका छन् भने समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्। छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।










