
दैलेख : नेपाल पत्रकार महासंघ दैलेख र जिल्लामा क्रियाशिल चार वटा संगठनहरुले नौमूले गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण वहादुर सलामीलाई कारवाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा पत्रकारहरुलाई गाली, वेइज्जती र मानमर्दनमा आँच पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघका दैलेख शाखाका अध्यक्ष यज्ञराज थापा लगायत जिल्लाका चार वटा संगठनका प्रमुखहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै कानून अनुसार कारवाहीको माग गरेका हुन् ।
प्रेस चौतारी नेपाल दैलेख शाखाका अध्यक्ष पुरुसोतम थापा (पुस्कर), प्रेस यूनियन दैलेखका अध्यक्ष भत्तबहादुर शाही, प्रेस सेन्टर नेपाल दैलेखका कावा अध्यक्ष तिर्थ भण्डारी र समाजवादी प्रेस संघठनका अध्यक्ष भिमबहादुर सिजापतिले संयूक्त विज्ञप्ति जारी गर्दै पत्रकार माथि सुरक्षा चुनौति थपिएको, अनावश्यक आरोप लगाइएको भन्दै कारवाहीको माग गरेका हुन् ।
नौमूले ५ का वडा अध्यक्ष कृष्ण बहादुर सलामीले पत्रकारीता पेशाप्रति आँचपुग्ने गरी पटक पटक सामाजिक सन्जाल फेसबुकमा पत्रकारहरुको विषय जोडेर विभिन्न स्टाटस लेखीमानहानी गर्ने, सामाजिक सद्भावमा खललपुग्ने गरि पत्रकारका सुरक्षा चुनौतीलाई समेत उठान गरि धम्की पूर्ण अभिव्यक्ति दिने कार्य लगातार गरिएको प्रति नेपालपत्रकार महासंघ, दैलेख शाखाको गम्भिर ध्यानआकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संगठनका प्रमुखहरुद्धारा जारी गरिएको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई हदैसम्मको कानूनी कारवाहीको लागि सरोकारवाला सबैसँग जोडदार माग गरिएको छ । साथै घटनालाई गम्भिर रुपमा नलिई तोडमोड गर्ने, राजनीतिकरण गरि कमजोर पार्र्ने प्रयास गरिए सबै संगठनहरु थप कडाइका साथ लाग्ने जनाइएको छ ।










