करार कर्मचारी र सुरक्षाकर्मी बीच झडप ५ सुरक्षाकर्मी गम्भीर घाइते

दैलेख  : दैलेखको गुराँस गाउँपालिकाले हटाईएका करार कर्मचारीहरूले आन्दोलन गरेपछि आन्दोलन नियन्त्रण बाहिर गएको छ । आन्दोलनकारीले गाउँपालिकाको कार्यालय तोडफोड सँगै प्रहरीमाथि लगातार ढुङ्गामुढा गरेपछि गोली चलेको हो । सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि ३ राउण्ड गोली चलाएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । स्थिति नियन्त्रण बाहिर गएपछि करार कर्मचारी र प्रहरी बीच झडप भएको छ । जागिर खोसिएका करार कर्मचारीहरु प्रहरीमाथि जाइलागेपछि झडप भएको थियो झडपमा परेर ८ जना सुरक्षाकर्मीहरू गम्भीर घाइते भएका छन् अन्य २ को अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । गाउँपालिकाको अवस्था अहिले पनि तनावग्रस्त छ ।
करार कर्मचारीहरूलाई हाजिर नहुन भन्दै गाउँपालिकाले सूचना जारी गरेसँगै जागिर गुमेका करार कर्मचारीहरूले आन्दोलन गरेका थिए । आन्दोलनमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सी समेत घाइते भएको दैलेख प्रहरीले जानकारी दिएको छ । आन्दोलनका क्रममा कार्यालय सहायक बखत खत्रीसहित ३ जना कर्मचारीहरू घाइते भएका छन् ।
करार कर्मचारीहरूको म्याद थप नगर्ने गुराँस गाउँपालिकाको निर्णय विरुद्ध आन्दोलन गरेका कर्मचारीलहरुले गाउँपालिका भवन क्षेत्रमै आक्रमणको प्रयास गरेपछि प्रहरी र सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनका लागि हवाई फाएर गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँ सभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरू शुक्रवारदेखि आन्दोलनमा उत्रिएका थिए ।
यस अघि नेपाली काँग्रेसले विजयी उक्त गाउँपालिकामा २ सय भन्दा बढी करार कर्मचारीहरू यस अघिका निर्वाचित जनप्रतिनिधिहरूले नियुक्त गरेका थिए । महालेखा परीक्षणको कार्यालयले समेत वार्षिक करोडौँ रकम अनावश्यक नीति विपरीत रकम खर्च भएको भन्दै बेरुजु निकालेको विषयलाई समेत गाउँ सभामा गम्भीर समीक्षा गरेर कर्मचारी हटाउने निर्णय गरेको निर्वाचित जनप्रतिनिधिले जानकारी दिएका छन् ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेसका पार्टी सचिव खेमराज ओलीले भाषणमै आन्दोलन गर्न उक्साएपछि अवस्था झनै जटिल बनेको स्थानीयले जानकारी दिएका छन् ।
कानुनी उपचारका बाटाहरु खोज्नुको साटो करार कर्मचारीलाई नै आन्दोलन गर्न उक्साएपछि अवस्था जटिल बनेको थियो । कार्यालय परिषर भित्र प्रवेश गरेर होहल्ला गर्दै प्रहरीमाथि नै आन्दोलनकारीहरु जाइलागेपछि प्रहरीले गेट बाहिर जान सिटी फुक्दै सामान्य बल प्रयोग गरेको अवस्थामा बाहिर रहेका आन्दोलनकारीहरुले एकाएक ढुङ्गमुढा गरेको दृश्य सामाजिक सञ्जालनमा देख्न सकिन्छ ।
प्रत्यक्षदर्शी एक स्थानीयले भने गाउँपालिका अध्यक्ष भएका बेलामा खमेराज ओलीले आफैले निर्माण गरेको संरचना उनकै पालामा नियुक्ति खाएका र अहिले हट्ने डरले आन्दोलन गरेका कर्मचारीहरुले नै तोडफोड गरेका छन् । यसलाई कसरी बुझ्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार