दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुलेको छ । सोमबार (साउन २ गते) करार कर्मचारीहरू आफ्नो करार सेवा थप गर्न माग गर्दै लगाएको ताला बुधबार खुलाइएको हो ।
गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरूको सम्झौता नविकरण नगर्ने निर्णय गरेपछि करार कर्मचारीलगायत आन्दोलनमा उत्रिएका थिए । असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
बुधबार गाउँपालिकाका अध्यक्ष एंव करार कर्मचारीको विषयमा छलफल गर्न बनेको बार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाइएको तालाबन्दी खुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।
बैठकले करार कर्मचारीको म्याद थप नगर्नेबारे गाउँपालिकाद्धारा प्रकाशित सूचना अनुसार म्याद थप नभएका करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधि अनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रश्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।










