दैलेख : बर्षातको समयमा यसै पनि जोखिम बढ्ने गर्दछ । यसपालिको बर्षायाममा आएको मुसल धारे पानीले दैलेखका जिल्ला भरका अधिकांश सडकहरू छेतविछेद् पारिदिएको छ ।
सडकलाई मात्रै ठुलो विकास ठान्ने मानसिकताका कारण दैलेख जस्ता पहाडी भू भागका जमिनहरू अव भासिन सुरु गरेका छन् ।
भित्री चट्टान र बाहिर माटो भएका स्थानहरू जथाभाबी खनिएका सडक र सडकबाट बग्ने अनियन्त्रित भलका कारण नयाँ नयाँ स्थानहरूमा भीषण पहिरोहरू जान थालेका छन् ।
दैलेखको नारायण नगरपालिका वडा नं. ६ नयाँ गाउँ हुँदै बिजौरा, चौराठा, जाने सडकमा भीषण पहिरो गएको छ ।
विगत ५० वर्षदेखि समथल भूभाग मानिएको स्थानमा एकाएक भीषण पहिरो गएको हो । समथल स्थान अहिले ठुलो खोलाको रूपमा परिणत भएको छ ।
बेलापुर मन्दिर हुँदै तलपट्टिको भल, बसपार्कको भल जम्मा हुँदै उक्त सडकमा पुगेपछि जमिन भासिएको हो ।
विगत तीनबर्षदेखि नगर चक्रपथ अन्तरगत उक्त सडक निर्माणको ठेक्का मार्फत काम भइरहेको भए पनि नालीको प्रभावकारी व्यवस्थापन नभएका कारण अहिले पहिरो गएको स्थानबाटै भल पास भएको थियो । जमिन भित्र पानी पसेसँगै भलले जमिन चिरेपछि उक्त स्थानमा अहिले नयाँ खोला निर्माण भएको छ ।
चार करोड बढी रकम चक्रपथ निर्माणका लागि ठेक्का मार्फत काम गर्नुपर्ने हो तर निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीहरूले राजनीति पहुँचका भरमा काम नगरेको सडकमा नाली निर्माण नगरिदिएका कारण जमिन भासिएको स्थानीयको आरोप छ ।
सडक भासिएसँगै मानिसहरूको वातजावतमा समेत कठिनाइ उत्पन्न भएको छ ।
उपप्रमुखको अनुगमन
निकास निकाल्ने तयारी
पहिरोले सडक नै बगाएपछि नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ताकुमारी थापा सहित प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ । तत्कालै उत्त सडक सञ्चालनमा ल्याउन कठिनाइ हुने देखिएपछि विकल्पको रूपमा बेलापुर मन्दिरको पूर्वी क्षेत्र हुँदै खुर्सानी वारी सडकलाई तत्काल सञ्चालन गर्ने गरी काम गर्न आफूले निर्देशन दिएको उपप्रमुख तप्ता थापाले जानकारी दिएकी छन् ।
ठुलो बर्षात निरन्तर भई रहेका कारण वडा नं. ११ वडा नं. १० लगायतका विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएका छन् । आवश्यकता अनुसार आफूहरूले सडक खुलाउने प्रयास गरिरहेको उपप्रमुख थापाको भनाई छ ।
११ वटा स्थानीय तह रहेको दैलेखका अधिकांश वडा कार्यालयहरू सम्म सडक पुगेका छन् । बर्षातले सबै सडकहरू बर्षातले क्षति गरेको छ ।
पूर्वाधार विकास कार्यालय दैलेख मार्फत सञ्चालन भएका करिब २ सय बढी सडक निर्माणका आयोजनाहरू समेत अहिले नदेखिने अवस्थामा रहेका छन् ।
भल आयो वा क्षति भयो भन्दै धमाधम विल पास गर्न र अनियमितता गर्न सजिलो हुने सडक निर्माण विकासको मेरुदण्ड सँगै विनाशको मुख्य आधार बनेको छ ।










