युवामैत्री शासन बनाउन प्रतिबद्ध छौंः गुरुङ्ग

दैलेख : दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गले महावु गाउँपालिकामा युवामैत्री शासन सञ्चालनका लागि पालिकाले अपनाउनुपर्ने सवै बिधिहरु अलबम्बन गरिने बताएका छन् । युवामैत्री स्थानीय शासनका लागि पालिकाका बिभिन्न क्षेत्रमा काम गरेका युवाहरुलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै गुरुङ्गले भने हरेक निकायमा युवाहरुको सक्रिय सहभागिता जरुरी छ । पालिकाले सोही अनुसार नीति निर्माण गरेर कार्यान्वयन गर्छ ।
गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले युवाहरुको नेतृत्व आज र भोलीका लागि आवश्यक रहेकोले सोही अनुसार काम गर्ने बताएकी छन् । युवाहरु भविष्यका कर्णधारहरु हुन्, युवाहरुले मुलुक परिवर्तनका लागि निकै ठूलो भूमिका निर्वाह गरेका कारण पनि आज संघीयता र गणतन्त्रको सुरुवात भएको हो, गाउँपालिकाले आगामी वर्षहरुमा सञ्चालन गर्ने गतिविधिहरुमा युवाहरुको हक अधिकार, हरेक विकासमा युवाहरुको सहभागितालाई बिशेष महत्व दिने बताइन ।
महाबु गाँउपालिकामा रहेका युवाहरु बिभिन्न क्षेत्रका युवाहरु, पालिकासँग शिक्षा, स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघ लगायतका युवाहरुलाई युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनाका बिषयमा तीन दिनको तालिम प्रदान गरिएको छ ।
युवाहरुले ९ बुदे घोषण पत्र समेत जारी गरेका छन् । सन् २०२५ भित्र माहावु गाउँपालिकालाई युवामैत्री पालिका घोषणा गर्ने, पालिकामा लैङ्गिक समानता कायम गर्ने, पालिकाका बेरोजगार युवाको पहिचान गर्दै समुदायस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, उद्यमी बनाउन अभियान थालनी गर्ने, एक शिक्षण संस्था एक उद्यम कार्यक्रमलाई दीर्घकालिन रुपमा विकास गरी उद्यमशिल युवा उत्पादन गर्ने, छाउपडी, छुवाछुत लगायतका विकृति विसंगतीको अन्त्य गर्ने, पालिकामा सुशासन प्रर्वद्धन, विकासमा दिगोपना, पारदर्शी विकासको अवधारणा अगाडि बढाउने, युवा प्रोफाईल तयार गर्ने, युवा सुचना केन्द्र स्थापना गर्ने, अपाङ्गतामैत्री भौतिक पुर्वाधार निमार्णमा सहजिकरण गर्ने लगायतका प्रतिबद्धताहरु गरेका छन् ।
कर्णाली प्रदेशमा पहिलोपटक दैलेखको महावु गाउँपालिकाको संयोजनमा युवामैत्री शासन प्रर्वद्धनका लागि राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफको सहकार्यमा कार्यक्रम सुरु गरिएको छ ।
पहिलो पटक गरिएको तालिमको सहजिकरणका लागि युएनडिपिको प्रतिनिधि विनिता कार्की, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक दिपेश घिमिरे र राष्ट्रिय युवा परिषद्का शाखा अधिकृत राजकुमारी खत्रीले गरेका थिए ।
युवाहरुलाई बिभिन्न उद्यम, कृषि, पूर्वाधार र पर्यटन क्षेत्रमा आवद्ध गराएर गाउँमै रोजगारी प्रदान गर्ने, युवाहरुलाई हरेक गतिविधिहरुमा आवाज उठाउन लगाउने बिषय जरुरी रहेको महावु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवै सामाजिक विकास समितिका संयोजक प्रकाश राज थापाले बताएका छन् ।
युवाहरुलाई राजनीतिक दलहरुको आन्दोलनमा मात्र हैन्, विकास, सुशासन, पैरवी र उद्यम क्षेत्रमा लगाउनुपर्ने मान्यताअनुसार कार्यक्रमको सुरुवात गरिएको सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार