दैलेख : दैलेखको काँडाचौर बसपार्क निर्माणको सुरुवातीमै चर्चा भयो । स्टिमेट भन्दा निकै कम गुणस्तरको काम भएको भन्दै नागरिकहरुले आन्दोलन गरे, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बारम्बार ताकेता गरे, गिट्टी हाल्नुपर्ने ढलानमा बालुवाको मोरंग मात्रै हालेको दृश्य समेत सार्वजनिक भयो, जनताले विरोध गरे धन्न धन्न अलिअलि गुणस्तर जस्तो देखाएर काम सम्पन्न भयो ।
कामको जिम्मेवारी लिएका मुख्य ठेकेदारले १ करोडको काम आधा घटेर ठेक्का लिए, लिएको ठेक्कामा आफुले ५ लाख रकम बचाएर पेटी ठेकेदारलाई काम बिक्रि गरे । पेटी ठेकेदारले विश्वासकै आधारमा कागज गरेनन् । काम गरे उधारोमा सामान ल्याए, व्यापारिहरुले विश्वासमै लाखौं रकमको दाल, चामल, नुन, तेल, सरिया, सिमेन्ट प्रदान गरे, केहीले गाडीमा ढुङ्गा गिट्टी, वालुवा बोकाए, केही होटल व्यवसायिहरुले कामदारहरुलाई भात खुवाए । काम अन्तिम चरणमा पुगेका बेलामा पेटी ठेकेदार भागे उनलाई सेटिङ्गमै भगाईएको पीडित व्यापारिहरुको गुनासो छ ।
निर्माणको कामको सवै रकम मुख्य ठेकेदारको खातामा भुत्तानी भयो, काम सकिएपछि रकम आउला भनेर आशा गरेका व्यापारिहरु अहिले निराश बनेका छन् । मुख्य ठेकेदारको जिम्मेवारी पाएका आरजे कन्स्ट्रक्शनका जगत कोईरालाले अहिले तपाँईहरुसँग कारोवार होईन मलाई कुनै मतलव छैन भनेर व्यापारीलाई ठगी गर्ने रणनीति बनाएको स्थानीय व्यापारी विष्णु जैसीको गुनासो छ । कोईराला नारायण नगरपालिका वडा नं. १ को निर्वाचित वडा सदस्य पनि हुन् अन्यायमा परेका जनतालाई न्याय दिलाउने ठाउँमा उनले दैलेखका व्यापारीहरुलाई नियोजित रुपमा ठगी गर्ने प्रयास गरेको जैसीको आरोप छ । जैसीले भनिन् हामीसँग बारम्बार फोन गरेर सामान दिनुहोस् भुक्तानी मैले दिने हो भन्नु भयो, बिल पनि हामीले आरजे कन्स्ट्रक्शनका नाममा काटेका छौं २० लाख रकम अहिले दिन्न भन्नु भएको छ । न्यायलाय जान्छौं न्याय पाईन्छ भन्ने आशामा छौं ।
को हो मुख्य निर्माण कम्पनी ?
आरजे कन्टक्सनका मालिक जगत कोईराला दैलेखको नारायण नगरपालिका वडा नं. १ बाट निर्वाचित वडा सदस्य समेत हुन् । उनी लामो समयदेखि निर्माण कम्पनी मार्फत बिभिन्न कामहरु गर्दै आएको भएपनि बसपार्क निर्माणको काममा भुक्तानी नदिएको भन्दै व्यापारी र कामदारहरुले उनी बिरुद्ध बिरोध सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा भएको छलफलमा पीडित व्यापारिहरुसँग आफुले पेटीमा जिम्मा दिएको व्यक्ति जुम्लाका जयबहादुर बोहोरालाई दिनुपर्ने रकम सबै रकम दिईसकेको हिसाव मिलान भई सकेकोले कुनै पनि व्यापारी, होटेल व्यवसायी र कामदारलाई रकम नदिने बताएका छन् ।
कामको जिम्मा लिएका जयबहादुर बोहोराले भने आफुले १६ लाख मात्र नगद पाएको अन्य सामान्य खर्च ४ लाख गरेर २० लामा मात्र पाएको र जगत कोईरालाले २० लाख रकम आफुलाई दिए सवैको रकम तिरिदिने जिल्ला प्रहरी कार्यालयमा बताएका थिए । मलाई नदिएको रकम दिएँ भनेर झुठो कुरा आफ्नो डायरीमा जगत कोईरालाले लेखेको उनको आरोप छ ।
पेटी ठेकेदारलाई जिप्रका भित्रै ज्यान मार्ने धम्कि महिलामाथि हातपात
जगत कोईरालासँग व्यापारी र कामदारले बारम्बार रकम माग गरे, उनले जय बहादुर बोहोरालाई खोजेर ल्याउनु रकम दिन्छु भनेपछि पीडित व्यापारिहरुले जुम्लाका जय बहादुर बोहोरालाई दुई महिना लगाएर खोजी गर्दै पीडितहरुले दैलेख ल्याए । दैलेख ल्याएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दुई दिन छलफल भयो, कुनै निश्कर्ष ननिस्किएपछि पीडितहरु आदालत जाने तयारी गरेकै बेलामा जय बहादुर रोकाए पुनः दैलेख छोडेर भागेका छन् ।
जयबहादुर बोहोराले बाटोमै आउँदा मलाई ज्यान मार्ने धम्की आएको छ म दैलेख जाँदैन मैले ४० लाख रकममा २० लाख मात्रै पाएको छु । मेरो ज्यान तलमाथि हुन्छ जाँदैन भनेको तर परिवार र प्रहरीसँग उनको सुरक्षाको ग्यारेण्टी गरेर दैलेख ल्याएको पीडित व्यापारी विजय शाहीले बताएका छन् । जिप्रकामा छलफल हुँदै थियो होटेलमा कामदारले खाएको पैसा तिर्नुपर्ने अडान लिएपछि आफ्नो श्रीमती सीता शाहीलाई समेत जिप्रका भित्र जगत कोईरालाले हातपात गरेको विजय शाहीले आरोप लगाएका छन् । २ महिना लगाएर खोजि गरेर ल्याएको बोहोरालाई पुन षडयन्त्रपुर्वक भगाईएको पीडितहरुको आरोप छ ।
४५ लाख ठगी
कुन व्यापारिको कति रकम
कामको लागि सरिया, सिमेण्ट प्रदान गरेका विष्णु टे«डर्सलाई २० लाख, २२ हजार ३० रुपैयाँ बाँकी छ उनले आर जे कन्स्ट्रक्शनको नाममै सामान दिएर भ्याट विल काटेका छन् । लक्ष्मी स्टोर्स मार्फत मञ्जु थापाले कामदारलाई दिएको खाद्यान्न लगायतका समानहरुको ६ लाख रकम बाँकी छ । होटल व्यवसायी सीता सिंह मार्फत कामदारलाई खाना खुवाएको निर्माण कम्पनीका व्यक्तिहरुलाई खाना खुवाएको ८ लाख ८४ हजार, नानकला थापाको गिट्टी, बालुवा ढुवानीको २ लाख २९ हजार ६ सय, निर्माणको काममा लागेका कामदार दत्त सिंहको ९ जना परिवारले अन्तिममा रहेको नालिको काम गरेको र काम गरेवापतको २ लाख ५० हजार पाएका छैनन्, यो सँगै भूर्ति र छातिकोटका कामदारहरुले ४ लाख रकम नपाएको गुनासो गरेका छन् । अनु खाण हार्डवेयरको नाममा पेटी ठेकेदार जय बहादुर बोहोराले २ लाख रकम बरावरको सामान कागज नै गरेर लगेका छन् । व्यापारिहरुले कुल ४५ लाख ८५ हजार ६ सय ३० रुपैयाँ ठगी गरेको र सोही आधारमा दुवै जनालाई अदालतमा ठगीमो मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।
मध्यपहाडीका पेटी ठेकेदारले पनि कामदारको पैसा दिएनन् ।
दैलेख खण्डमा निर्माण सुरु गरिएको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत बिभिन्न पेटी ठेक्का मार्फत काम गरिरहेका ठेकेदारहरुले सयौं कामदारको पैसा ठगि गरेका छन् । रकम ठगी गर्नेहरुका बिरुद्ध आवाज उठान नसकेर पसिना बगाएको पैसाको मुल्य नभएको गुनासो कामदारहरुको रहेको छ ।
एक कामदारले भने गरिवहरु मरिमरि काम गर्ने गर्दछन् तर केही धनि र पहुँचवालाहरुको सेटिगंमा गरिव मानेर पेटी ठेकेदार भगाउने र गरिवको पैसा ठगी गर्ने प्रचलन बढेको छ ।
कस्ले दिन्छ न्याय ?
विकास निर्माणका नाममा हुने ठगीबाट पीडित भएका कामदारहरु र व्यापारिहरुको बिषयमा न्याय दिने स्थान भनेको अदातल नै हो तर विस्वासका आधारमा कतिपय कामहरु गर्दा नियत नै गलत राखेर ठगी गर्नेहरुका बिरुद्ध कामदारहरुले कडा कदम चाल्नुपर्ने आवश्यकता भएको बताएका छन् । यसरी नियत नै गलत राखेर ठगी गर्नेहरुलाई सम्बन्धित निकायहरुले तत्कालै पक्राउ गरि कानुनी उपचार खोज्नुपर्ने आम नागरिकहरुको भनाई छ ।











