दुई लेनको सडक बनाउन माग

दैलेख–सुर्खेत सडक खण्ड दुई लेनको बनाउन माग गरिएको छ । सडक स्तरोन्नतिको माग गर्दै उद्योग वाणिज्यसंघ दैलेखले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले दैलेख–सुर्खेत सडक खण्ड दुई लेनको बनाउनका लागि बजेट विनियोजन गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
संघले प्रधानमन्त्री समक्ष दैलेख–सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत–दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को कार्य अघि बढिरहेको अवस्थामा कोभिडको कारण रोकिएकोले उक्त कार्यलाई तत्काल सुरु गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।
संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ ।
यस्तै धार्मिक तथा पर्यटकीय स्थलको हिसावले महत्वपूर्ण मानिएको दैलेखको पर्यटन प्रर्वद्धन सम्वद्र्धन तथा आकस्मिक उपचार, दैवि प्रकोपको उद्धारका लागि विमानस्थलको निर्माण गर्न सरकारसमक्ष माग गरिएको संघका अध्यक्ष कुलबहादुर विकले बताए ।
उनले दैलेख जिल्लाको कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गर्न सरकारसँग माग गरिएको बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सबैभन्दा नजिकको जिल्ला भएपनि दैलेखबाट प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसम्मको सडक स्तरोन्नती हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार