सुर्खेत : पहिलो संविधानसभाका बैठकहरूमा बेलाबेला उनी पनि सदस्यको हैसियतले बोलिन् । कहिले देशको समसामयिक परिस्थितिका बारेमा त कहिले विशेष घटना र अवस्थाका बारेमा बैठकमा कुरा उठाइन् ।
पहिलो संविधानसभा (२०६४–२०६८) मा ६ सय १ जना सभासदमध्येकी एक भरतकुमारी रेग्मी अब देशभरका शिक्षकको सूचीमा समाहित भएकी छन् । दैलेखको नारायण नगरपालिका–३ भरतकुमारीले प्राथमिक तहको शिक्षक परीक्षा उत्तीर्ण गरेको १९ वर्षपछि गत असार ९ गते नियुक्तिपत्र बुझिन् ।
त्यसो त उनी सांसद हुनुअघि पनि शिक्षण पेसामै थिइन् तर अस्थायी थिइन् । अहिलेको नियुक्ति स्थायी हो । सभासद हुनुअघि भरतकुमारी ‘राहत दरबन्दी’ भनिने अस्थायी सेवामा विद्यालयमा पढाउँथिन् । उनले सात वर्ष बढाइन् ।
भरतकुमारी र उनका श्रीमान नारायण शर्मा एउटै विद्यालयमा राहत दरबन्दीमा कार्यरत थिए । उनीहरू तत्कालिन नारायण नगरपालिका–४, सोतस्थित महेन्द्र प्रस्तावित माध्यमिक विद्यालयका शिक्षक थिए । नारायण एकाएक शिक्षण छोडेर तत्कालीन नेकपा माओवादीले चलाएको ‘जनयुद्ध’ होमिए । यसपछि भरतकुमारी राज्यपक्षको निगरानीमा परिन् ।
‘हामीलाई शंका गर्न थालेको २०५६ सालदेखि नै हो,’ उनले भनिन्, ‘उहाँ (नारायण) म भन्दा पहिले माओवादीमा लागेर विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुनुभएको थियो । त्यसपछि नै ममाथि निरन्तर निगरानी हुन थालेको थियो ।’
द्धन्द्ध चर्केको त्यो समयमा भरतकुमारीले विद्यालयमा पढाउन नसक्ने अवस्था भयो । मानसिक यातनाले सतायो । उनी विद्यालय छाडेर ‘भूमिगत’ भइन् । ‘बारम्बार यातना हुन थालेपछि यहाँ पढाउन सक्दिनँ भनेर म भूमिगत भएँ,’ उनले भनिन्, ‘शिक्षक सेवा आयोगले नतिजा निकालेर सिफारिस गर्दा पनि म नियुक्ति लिन जान पाइनँ ।’
भरतकुमारीले २०५२ सालमा खुलेको विज्ञापनमा परीक्षा दिएकी थिइन् । लिखित परीक्षा उत्तीर्ण भइन् । अन्तरवार्ता पनि भयो । अन्तरवार्ता चल्दै थियो, अचनाक स्थगित भयो । यस बीचमा शिक्षक सेवा आयोग बन्यो । तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयले लिएका परीक्षाको नतिजाको जिम्मेवारी आयोगमा स¥यो । स्थगित भएको अन्तरवार्ता पनि भयो ।
लिखित परीक्षा भएको ८ वर्षपछि, २०६० सालमा, अन्तिम नतिजा प्रकाशित हुँदा द्वन्द्व चरमोत्कर्समा थियो । भरतकुमारी उत्तीर्ण भइन् तर उनले नियुक्तिपत्र बुझ्न सकिनन् । ‘म २०५८ सालमै भूमिगत भएकी थिएँ । पास भए पनि नियुक्ति लिन सक्ने अवस्था भएन,’ उनले भनिन्, ‘म माथि शारीरिक, मानसिक यातना हुन थाल्यो । प्रहरीले थुन्न थाले । यस्तो यातना सहन नसकेपछि म पनि जनयुद्धमा लागेँ ।’
संयुक्त जनआन्दोलनको सफलतापछि २०६२ सालमा तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो । यसपछि भरतकुमारी गाउँ फर्किन् । फेरि उही शिक्षण पेसामै पुनर्बहालीको कुरा चल्दै थियो । भरतकुमारी पुनर्बहाल हुने मनसायमा थिइन् ।
एकाएक परिस्थिति बदलियो । उनी संविधानसभा सदस्य बन्ने भइन् । ‘त्यतिबेला शिक्षकमा पुनर्बहालीको कुरा पनि चल्दै थियो तर २०६४ मा संविधानसभाका लागि समानुपातिकतर्फ मेरो नाम प¥यो । म त्यतै लागेँ,’ उनले भनिन् । उनी ३३ वर्षको उमेरमा संविधानसभा सदस्य भइन् ।
द्वन्द्वका कारण विस्थापित भएका २५ जना शिक्षकहरू पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए । गत वर्ष अदालतले विस्थापित शिक्षकको हकमा विस्थापित भएको मितिदेखि नै लागू हुने गरी पुनर्बहाली गर्न र नियुक्ति बुझ्न नसकेकाको हकमा सेवा अवधि गणना हुने गरी पदस्थापन गर्न आदेश दिएको थियो ।
यसैअन्तर्गत परेकी हुन् भरतकुमारी । यसरी नियुक्ति लिने शिक्षक देशभर १८ जना छन् । तीमध्ये भरतकुमारी एकमात्र महिला हुन् । अदालको आदेशअनुसार २०७८ चैतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि उनीहरूलाई नियुक्ति दिने निर्णय गरेको थियो ।
खुला परीक्षाको नतिजा आएको १९ वर्षपछि भरतकुमारीले नियुक्ति बुझिन् । उनले अब १२ वर्षसम्म पढाउन पाउने छिन् । हाल उनी ४८ वर्षकी भइन् । काम गर्न नपाएको अवधि सेवामा गणना हुने भएकाले उनले पेन्सन पनि पाउनेछिन् । नियुक्तिपत्र बुझे पनि विद्यालय निश्चित नभएका कारण हाजिर हुन भने पाएकी छैनन् ।
संविधानसभाको सभासद् भएको व्यक्ति राजनीतिलाई नै निरन्तरता नदिएर फेरि किन शिक्षक हुन आइन् त भरतकुमारी ? ‘हामी राजनीतिमा होमिए पनि नेतृत्व तहबाट लक्ष्य र उद्देश्य पूरा भएको महसुस भएन,’ उनी भन्छिन्, ‘म संविधानसभाबाट फिर्ता भएपछि कि त राज्यले मेरो व्यवस्थापन गर्नुप¥यो, नभए म आफ्नो पेशामा फर्किनुप¥यो ।’ यति भनेर उनले प्रश्न गरिन्, ‘नत्र कसरी बाँच्ने ?’
भरतकुमारीका विचारमा पहिलो संविधानसभापछि वास्तविक उत्पीडितहरूको प्रतिनिधित्व हुन सकेको छैन । ‘पहिलो संविधानसभाको चुनावमा वास्तविक उत्पीडित वर्ग सहभागी थिए, त्यसपछिका चुनाव त नाटकजस्तो मात्रै,’ भन्छिन् ।
नेकपा माओवादी विभाजित भएपछि भरतकुमारी मोहन वैद्यले नेतृत्व गरेको नेपाल नेकपा (क्रान्तिकारी) मा आबद्ध भइन् । अब उनलाई सक्रिय राजनीतिमा खासै रुचि छैन । उनका अनुसार शिक्षण पेसामा फर्किने भएपछि पार्टीबाट अलग हुने प्रक्रिया सुरु भएको छ ।










