न्यायको लडाइमा डेढ दशक

दैलेख : तत्कालीन द्धन्द्धकाल । माओवादीले व्यवस्था परिवर्तनका लागि भन्दै चलाएको दश वर्षे जनयुद्ध । २०५२ सालबाट माओवादीले तत्कालीन राजतन्त्रसँग विभिन्न माग राख्दै सुरु गरेको दशवर्षे जनयुद्धमा धेरै नेपालीले ज्यानको आहुति दिए ।
परिवर्तनकालागि भन्दै माओवादीले गरेको युद्धमा कोहीले अनाहकमा ज्यान गुमाउन प¥यो । माओवादीको चमर यातनाबाट अनाहकमा ज्यान गुमाउनेमा एक थिए दैलेखका पत्रकार डेकेन्द्रराज थापा । दैलेखको पत्रकारिता क्षेत्रमा जीवित प्रश्न हो तत्कालीन माओवादीद्वारा मारिएका पत्रकार थापाको न्यायको लडाई ?
साउन २७ गते (अर्थात्) आज माओवादीद्वारा अपहरण पछि बीभत्स हत्या गरिएका पत्रकार थापाको १८ औँ स्मृति दिवस । माओवादीबाट अनाहकमा पत्रकार थापा मारिए पनि न्याय प्राप्तिको लडाई भने करिब डेढ दशकसम्म मरेको छैन ।
पत्रकार थापाको हत्या भएको १८ वर्ष पुगेको छ । उनको परिवार र दैलेखका पत्रकारले करिब दुई दशकसम्म न्यायको लडाइ जारी राखेका छन् । दैलेख बजारको खानेपानी लाइन काटिएपछि वार्ताका माध्यमबाट समस्या समाधान गर्ने भन्दै नौमूले पुगेका उनलाई तत्कालीन माओवादीले २०६१ असार १२ गते अपहरण गरी ४५ दिन बन्धक बनाई हत्या गरेका थिए ।
माओवादी पक्षले भने सीआईडीको काम गरेको, जनसत्ताको अनुमतिबिना आधार क्षेत्रमा प्रवेश गरेको जस्ता आरोप लगाउँदै विज्ञप्तिमार्फत हत्याको जिम्मेवारी लिएको थियो । माओवादीले नौमूलेबाट अपहरण गरी ४५ दिन बन्दक बनाएर हत्या गरिएका पत्रकार थापाको शव नौमूलेको द्धारी जगंलमा गाडिएको अवस्थामा २०६१ साल साउन २७ गते फेला परेको थियो ।
नेपाल पत्रकार महासंघको अनुरोधमा राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा २०६५ असार ११ गते पत्रकार डेकेन्द्रराज थापाको चिहान उत्खनन् पछि शव पहिचान गरी उनको परिवारलाई जिम्मा लगाइएको थियो ।
उनकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते हत्यामा संलग्न भएका ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन किटानी जाहेरी पछि प्रहरीले वेला–वेला गरी पक्राउ गरेका ६ जना मध्ये ३ जनाले कैद सजाय भुक्तान गरीसकेका छन् भने ३ जना अहिले पनि कारागारमा छन् ।
पहिलो चरणमा प्रहरीले अभियुक्तहरूको पक्राउ गरेपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले सार्वजनिक रूपमा नै हस्तक्षेप गरेका थिए । मुद्दाको अनुसन्धान तुरुन्त रोक्न प्रहरी र सरकारी वकिललाई आदेश दिएका थिए ।

मुख्य अभियुक्त फरार सूचिमा
जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न ९ जनालाई नै कानुनी दायरामा ल्याउन फैसला गरेको लामो समय बित्दासमेत सरकार पक्षले फरार व्यक्ति पक्राउमा महत्व नदिँदा हत्या संलग्न पुष्टि भएका मुख्य अभियुक्त अझै प्रहरीको फरार सूचिमा छन् ।
पत्रकार थापाको तत्कालीन माओवादीले हत्या गरेको १८ वर्ष पुगेको भएपनि हत्यामा संलग्न मुख्य अभियुक्त सहित ३ जना अझै दैलेख प्रहरीको फरार सूचिमा छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्सपेक्टर नरेश विकका अनुसार अदालतबाट सजाय तोकीएका ३ जना व्यक्ति फरार रहेका बताए ।
प्रहरीका अनुसार फरार रहेका ३ जनाको खोजि भइरहेको छ । ‘हामीले फरार तीनैै जनाको खोजी कार्य तिव्र पारेका छौँ, बेला–बेला गरिएका अप्रेशनहरुले उनीहरुलाई पक्राउ गर्न सकिएन, सूचना संकलन गर्ने काम भैरहेकाले फारार अभियुक्तलाई छिट्टै समात्छौँ’, प्रहरी इन्सपेक्टर बिकले भने ।

हामी अझै आन्दोलनमा छौँ
दैलेखका पत्रकारहरुले आफुहरु अझै आन्दोलनमा रहेको बताएका छन् । पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले न्यायालयले गरेको फैसलासँग जोडिएका मुख्य अभियुक्त अहिलेसम्म फरारको सूचिमा हुनु स्थानीय प्रशासनको लाजमर्दो चरित्र भएको बताए ।
व्यवस्था परिवर्तनसँगै शान्तिपूर्ण अवस्था आईसक्दा पनि न्यायालयले दण्डित गरेका मुख्य अभियुक्त पक्राउ नपर्नुको कारण सम्वन्धित निकायले प्रष्ट पार्न जरुरी रहेको उनको भनाई छ । ‘के कति कारणले पक्राउ गर्न नसकिएको हो भन्ने प्रश्न बारम्बार उठिरहेको छ, न पक्राउ गर्नसक्नु न जवाफ दिनसक्नु यो स्थानिय प्रशासनको लाचारीपन हो’, थापाले भने ।
उनले अहिले पनि दैलेखका पत्रकारको निरन्तर माग भनेको डेकेन्द्र थापा हत्यामा संग्लगन मध्येका मुख्य अभियुक्त तत्काल पक्राउ गरि कानुनी कारवाहीमा लैजापर्ने रहेको छ, अन्यथा दैलेखका पत्रकार पुनःआन्दोलनको मोर्चामा होमिने वाध्य हुने अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार