दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माले सम्भावना भित्र अवसरको खोजी गरिनु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले १८ औँ डेकेन्द्र स्मृति दिवसको अवसर पारेर शुक्रबार गरेको दैलेखको समृद्धि र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।
उनले जिल्लाको विकास र समृद्धिकालागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले सबैले समृद्ध नेपाल खुसी नेपालीको नारालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । शर्माले देश बनाउने कुरा सबैको साझा भएको पनि बताए ।
उनले तत्कालीन माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापा पत्रकार मात्र नभएर एक विकास प्रेमी व्यक्तित्व भएको बताए । ‘डेकेन्द्र थापा पत्रकार मात्र थिएनन्, उनी एक जिल्लाको विकास र जनताका समस्यामा चासो राख्ने व्यक्ति थिए, उनमा अविभागत्व लिन सक्ने क्षमता थियो’, अध्यक्ष शर्माले भने ।
उनले जिल्लाको विकासकालागि पहिलो प्राथमिकता भनेको पूर्वाधार विकासको रहेको समेत बताए । ‘कुनै जिल्ला क्षेत्रको विकासको सुरुवात हुन्छ भने पहिले पूर्वाधार विकास नै हो, पूर्वाधार विकास भए दैलेखमा बाइए तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन्छ, पर्यटनको विकास भए आर्थिक उपलब्धी हुन्छ’, उनले भने ।
ठेकेदारले निर्माणका काम अलपत्र पारे
अध्यक्ष शर्माले ठेकेदारहरूले जिल्लाको विकासकालागि सुरु गरिएका योजना÷आयोजना निर्माणका काम अलपत्र पार्ने गरेको बताएका छन् । यहाँको विकासका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्ने ठेकेदारले काम लिएपछि नगर्ने परिपाटिले समस्या देखिएको बताए ।
‘दैलेखमा विभिन्न गौरवका आयोजना छन् । यी आयोजनालाई तदारुकताका साथ अघि बढाउने जिम्मेवारी कामको जिम्मा लिएका निर्माण कम्पनीको हुन्छ । दैलेख, महाबुसम्म पुग्ने सडकको काम तीव्र गतिमा हुनुपर्ने हो । पैसा छ । ठेकेदारले राजनीतिक आडमा काम गर्दैनन् समस्या जनताले भोग्नु परेको छ’, शर्माले भने ।
उनले दैलेखको नारायण नगरपालिका र महाबु हुँदै नाक्चे नाग्ला पुग्ने सडक कर्णाली राजमार्ग भन्दा छोटो दुरीको रहेको जिकिर गरे । यहाँबाट हुँदै हुम्ला पुग्ने बाटो परापूर्व कालदेखि कै व्यापारिक मार्ग रहेकाले संघीय सरकारले यस तर्फ विशेष ध्यान दिएर काम अघि बढाउनुपर्ने बताए ।
दैलेख बजार हुँदै महाबु पुग्ने सडकको काम केही खण्डमा सुरु भएको देखिएको छ, केही निमार्ण व्यवसायीरुले काम गरेका छैनन् । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र पर्ने सबै योजना आयोजनाको काम छिटो गर्न ताकेता गर्दै काम नगर्ने ठेकेदारलाई कानुन अनुसार कारबाही गर्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।
उनले दैलेखका विभिन्न स्थानीय तहमा विद्युतिकरणको काम केही वर्ष अघिदेखि सुरु भएको बताए । ‘दैलेख उज्यालो अभियान अन्तर्गत केही वर्ष अघिदेखि दैलेखका विभिन्न स्थानीय तहमा ग्रामीण विद्युतिकरणको काम सुरु भएको हो’, उनले भने ।
अध्यक्ष शर्माले राजनीतिक शक्तिको आडमा विकासे काम अलपत्र पार्ने ठेकेदारले लाज मान्नुपर्ने बताए । उनले विकास गर्न भावना चाहिनुपर्ने भएकाले कामको जिम्मा लिने निर्माण व्यवसायिहरुलाई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।
उनले जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा बन्दै गरेको भवन निर्माणको कामपनि शिरस्थान सडकको जस्तै हालत देखिने सम्भावना रहेको बताए । स्वास्थ्य भवन निर्माणको काम सुस्त गतिमा भएकाले शिरस्थान सडकको जस्तै हालत हुन्छ कि भन्ने चिन्ता रहेको शर्माको भनाई छ ।
उनले नारायण नगरपालिका दैलेख बजारका नागरिकलाई खानेपानी सहजताकालागि आफूले ०५४ सालको नगर प्रमुख हुँदादेखि काम सुरु गरेको बताए । ‘खानेपानी समस्याको समाधान गर्न ०५४ देखि लागेको हुँ, यहाँका नागरिकलाई खानेपानीको अभाव हुन दिन्न’, उनले भने ।
राज्यबाट आएको बजेट सही सदुपयोग गरिनुपर्ने अध्यक्ष शर्माको भनाई छ । उनले कृषि र कृषकका नाममा विकृति देखिएको बताए । ‘खास किसानले अनुदान पाउँदैनन्, कृषककालागि भन्दै विभिन्न निकायले भैँसी खरिद गरेको ठाउँमा कमिशनको खेल प्रस्ट देखिन्छ, ८० हजार पर्ने भैसिको १ लाख बढी मूल्यको विल आउँछ’, उनले भने ।
उनले गणतन्त्र मात्र भनेर नहुने भएकाले आम नागरिकले सम्भावना भित्र अवसर खोज्नु पर्ने बताए । जिल्लामा रहेका ऐतिहासिक सम्पदा कसले बनाएको हो कहिले बनाएको हो भन्ने कुराहरुमा अपव्याख्या गनेर्् अधिकार कसैको पनि रहेको बताए । ‘जिल्लामा पुराना सम्पदा रहेका छन्, ती कहिले र कसले बनाएको हो, यस्ता विषयमा ख्याल गरिनु पर्छ’, शर्माले भने ।
अध्यक्ष शर्माले दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन्को काम केही समयमै सुरु हुने आशा व्यक्त गरे । यहाँको पेट्रोलियम पदार्थको उत्खनन् सुरु भए दैलेख लगाए सिङ्गो मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको भनाई छ ।
उनले पत्रकारलाई व्यावसायिक बन्ने आग्रह गरे । पत्रकारले विज्ञापनकालागि झोला बोकेर दौडिन पर्ने अवस्थाको अन्त्य गरी समाचारको खोजीमा व्यावसायिक हुन जरुरी रहेका धारणा व्यक्त गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।










