महावु धाम  यात्रा कठिन तर स्वर्गीय आनन्द

दैलेख : सँधै वर्ष झै यो वर्ष पनि महावु धाममा लाग्ने धार्मिक मेला सम्पन्न भएको छ । महावु धाम पुग्नका लागि यात्रा जति कठिन छ उत्तिकै स्वर्गीय आनन्द पनि छ । एउटा मात्र वर मागे पूरा हुने विश्वास अहिलेपनि कायमै रहेको छ । दैलेखको महावु र नौमूले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने यो स्थानमा धार्मिक पर्यटन सँगै मनोरम दृश्यहरुको दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको गन्तब्य बनाउन सकिने धेरै आधारहरु      छन् ।
समतल फाँट, बुकी झार, पाटनमा भेडा, घोडा, गाईभैसी चरन क्षेत्रहरु, ठूला ढुंगामाथि बसेर स्वर्गीय आनन्द लिन सकिने यो स्थानमा राज्यको नजर पर्न सकेको छैन् ।
स्थानीय र प्रदेश सरकारले यो क्षेत्रलाई बाह्रै महिना पर्यटन गन्तब्यको क्षेत्र बनाउन नसक्नु दुःखको कुरा हो । हजारौं तीर्थ यात्रीहरुका लागि उचित बासस्थानको व्यवस्थापन नहुनु, शौचालयको उचित प्रवन्ध नहुनु, सडकको सास्ती सँधै वर्ष रहिरहनुले यो क्षेत्रमा पर्यटकहरुको आगमन हुन सकेको छैन् ।
बासस्थान नभएका कारण ढुंगाको ओडारमा आगो बालेर जागराम बस्नुपर्ने, भएका केही स्थानहरुमा पनि प्रभावकारी व्यवस्थापन हुन नसक्नु समस्यको कुरा हो । केही परिवर्तनका संकेतहरु देखिएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु बिडम्बनाको कुरा हो ।
महावु धाममा ढुंगाबाट उत्पती भएको शिवलिङ्ग अवस्थित छ । परम्परागत रुपमा महादेव शिवको उत्पती भएको कैलाश स्थानका रुपमा महाबुधाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राहमणका छोरा पाटनमा भैसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दुध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न आएको दैलेखका आचार्य ब्राहमणहरुको कथन छ ।
दैलेख भुर्तीका आचार्य ब्राहमणहरुले ल्याएको धुद चढाउने र कालिकोटका काफ्लेहरुले नै अहिलेसम्म शिव देवताको पहिलो पुजा गर्ने गर्दछन् ।
दैलेख सदरमुकाम हुँदै महावु सम्मको सडक निर्माणमै भएको ढिलासुस्ति र निर्माण कम्पनीहरुले जिम्मेवारी अनुसारको काम नगरेका कारण अहिलेसम्म महावु सम्म सडक पहुँच प्रभावकारी हुन सकेको छैन् ।
केन्द्र सरकारले आँखामा छारो हालेझै गरेर बर्षमा १५ २० करोड मात्र रकम प्रदान गर्ने गरेका कारण पनि यो स्थानमा सडक विस्तार हुन कठिन भएको छ । महावु क्षेत्रको समग्र विकासका लागि  दैलेखको गुराँस, डुँगेश्वर, महावु, नौमूले गाउँपालिका सँगै नारायण नगरपालिका र कालिकोटको महावै गाउँपालिकाले प्रभावकारी दबाव सृजना गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार