दैलेख : युवाहरुको भविष्य विगार्दै आएको लागुऔषध नियन्त्रणका लागि दैलेख प्रहरीको सक्रियता बढ्दै गएको छ । प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाह जिल्ला आए लगत्तै अभियानले प्रभावकारीता पाएको हो । युवाहरुको भविष्य जोगाउनका लागि आफुले सकेसम्म प्रभावकारी काम गरेको प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहको भनाई छ । दैलेखमा युवाहरुको भविष्य जोगाउन र लागु औषधको प्रयोगबाट युवा युवतीहरुमा हुने बिभिन्न समस्याका बारेमा विद्यालय देखि समुदाय सम्म अभियान सञ्चालन गरेको शाहको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतमा रहेका जिल्लाभरका प्रहरी युनिट मार्फत यो अभियान सञ्चालन गर्दै आएको छ । स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरु, युवा, समाजसेवी सवैको सक्रियताले मात्रै युवाहरुको भविष्य जोगाउन सकिने भएकोले यसवारे सवैले सचेत हुन जिल्ला प्रहरी कार्यालय दैलेखले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी चौकी डुङ्गेश्वर बजारले डुङ्गेश्वर गाउँपालीका वडा नं ४ स्थित अवलपराजुलमा लागुऔषध दुरुपयोग बाट हुने असर र लागुऔषध दुरुपयोगको कानुनी प्रावधान सम्बन्धि स्थानिय जनप्रतिनिधि, बुद्धिजिवि, समाजसेवी लगायतको उपस्थितिमा समुदाय प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।









