दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ । ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट बुधबार उद्धार गरिएको हो ।
रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ ।
भैरवी गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले दैलेखमा अप्रेशनको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउनु परेको बताए ।
‘बच्चा जन्मिनुअघि गर्भवतीको अत्यधिक रक्तस्राव भएको थियो, अत्यधिक रक्तस्राव हुँदा अप्रेशन गरेर बच्चा निकाल्नुपर्ने हुन्छ, जिल्ला अस्पताल दैलेखमा अप्रेशनका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनु परेको हो’, हेल्थ असिस्टेन्ट शाहीले भने ।
यता, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले दैलेखमै बिरामीको अप्रेशन हुँदै आएको बताए । उनले एनेस्थेसिस्ट भनेर छुट्टै कर्मचारी उपलब्ध नभए पनि डाक्टरबाट अप्रेशन हुँदै आएको जनाए ।










