चुनावी रौनक बढ्यो जिल्ला केन्द्रित हुँदै दलका नेताहरुc

यही मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रौनक बढेको छ । चुनावमा प्रतिस्पर्धा गर्ने दाउमा लागेका नेताहरु अहिले जिल्ला सदरमुकाम केन्द्रित अभियानमा छन् ।
दैलेखमा रहेका २ वटा संघीय क्षेत्र र ४ वटा प्रदेश सभाका लागि निर्वाचनमा होमिने इच्छा व्यक्त गरेका बिभिन्न दलका नेताहरु अहिले जिल्ला सदरमुकाम दैलेख बजार केन्द्रित भएका छन् ।
दैलेखमा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुमा आकांक्षा बढी देखिएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतले चुनावी प्रतिपस्र्धाका लागि उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाएका छन् ।
एकीकृत समाजवादीले उम्मेदवारको लिष्ट सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस दैलेखले सवै क्षेत्रको उम्मेदवार छनौटका लागि मंगलवार र बुधवार दुई दिन बैठक सम्पन्न गरिसकेको छ । संघ र प्रदेशमा चुनाव लड्ने आकाँक्षीहरुको नाम संकलन कार्य सम्पन्न भईसकेको एक नेताले जानकारी दिएका छन् ।
संकलन गरिएको नाम अनुसार दैलेख क्षेत्र नं. १ को संघमा ६ जना, प्रदेश ‘क’ मा १० र प्रदेश ‘ख’ मा १० जना आकाँक्षी रहेको बुझिएको छ ।
क्षेत्र नं. १ बाट संघीय सांसदका लागि रबिन्द्रराज श्रेष्ठ, मणिराम रेग्मी, गणेश उपाध्याय, मिना थापा, पदम मल्ल र खगेन्द्र सुनारको नाम संकलन गरिएको छ ।
क्षेत्र नं. २ पनि आकाँक्षीहरुको धेरै नाम आएको एक नेताले जानकारी दिएका छन् ।
नेकपा एमाले दैलेखले पनि छलफल सुरु गरिसकेको छ । जिल्लामा रहेका शिर्ष नेताहरु अहिले छलफलका लागि सदरमुकाम दैलेख बजारमा जम्मा भएका छन् । यस अघि संघ र प्रदेशका सवै सिट विजयी हासिल गरेको नेकपा एमालेलाई अहिले पुरानो बिरासत जोगाउन चुनौती देखिएको छ ।
यस अघि नेकपा गठबन्धन हुँदा ४ प्रदेश र २ वटा संघमा नेकपा एमाले र माओवादी गठबन्धनले विजय हासिल गरेको थियो । अहिले परिस्थिती फेरिएको छ । एमालेबाट फुटेको समाजवादी, माओवादी र कांग्रेससँग एमाले एक्लैले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । गठबन्धन भित्रको असन्तुष्टिलाई फाइदाका रुपमा एमालेले हेरेको छ ।
नेपाली कांग्रेसले गठबन्धन भएपनि संघका दुवै सिट आफैले राख्ने तयारी थालेको छ भने प्रदेशमा भागवण्डा गर्ने तयारी थालेको छ । एकीकृत समाजवादीले भने दैलेखको क्षेत्र नं. १ मा संघ आफुले पाउनुपर्ने बिषयलाई उठान गरेको छ । संघको निर्वाचनका लागि अमर बहादुर थापालाई उम्मेदवार सिफारिस गरिसकेको छ ।
गठबन्धन भएपनि चुनावमा बिजयी हुने उम्मेदवार उठाउने तयारीमा नेकपा एमाले देखिएको छ । अहिले क्षेत्र नं. १ बाट संघमा नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा नै बलियो पात्र रहेकोले उनैलाई पुनः चुनावमा उठाउने बिषय चर्चामा छ । पार्टी एकीकरण हुँदा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पद त्यागेर एमाले प्रवेश गरेका धर्मराज रेग्मीले पनि संघमा चुनावी प्रतिश्पर्धा गर्ने बताएका छन् । दुई मध्ये एक जनाले टिकट पाउने बिषय अन्तिम चरणमा पुगेको देखिन्छ ।
क्षेत्र नं. २ बाट संघीय संसदको चुनावी प्रतिस्पर्धाका लागि विष्णु रिजाल, राजबहादुर शाही, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, विनोदकुमार शाह लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
एमालेले यही भाद्र १८ र १९ गते उम्मेदवार सिफारिसका लागि बैठकको अयोजना गरेको छ ।
नेकपा माओवादी केन्द्र दैलेखले प्रदेशमै दावी गर्ने भएको छ । कुन प्रदेशमा दावी गर्ने भन्ने बिषयमा माओवादी केन्द्रमा पनि छलफल र बहस चलिरहेको छ । चार मध्ये कुनै एकमा माओवादी केन्द्रले पाउने बिषयमा गठबन्धनमा छलफल गर्ने तयारी माओवादी केन्द्रले थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार