दैलेखः यसअघि नागरिकतामा फ्याउरो बादी नाम उल्लेख गरिएका दुल्लू नगरपालिका १ का एक व्यक्तिको नागरिकता परिवर्तन गरी फणिन्द्र बादी नाम उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले नयाँ नागरिकता प्रदान गरिएको छ ।
नागरिकतामा उल्लेखित अपमानित नाम १७ वर्षपछि सच्याइदिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासन कार्यालयले नागरिकतामा अपमानजनक नाम उल्लेख भएकाको आवश्यक प्रक्रिया पु¥याएर नागरिकतामा नाम सच्याएको हो ।
२०४० सालमा दुल्लू गाविसबाट सचिवले सिफारिस गरेको पत्रमा गलत नाम लेखेको र सोही सिफारिसका आधारमा जिल्ला प्रशासनले २०४० सालमा फ्याउरो बादी नाम लेखेर नागरिकता दिएको उनको भनाइ छ । ‘नाममै अपमान’ शीर्षकमा कान्तिपुरले समाचार प्रकाशित गरेपछि गृह मन्त्रालय र संसद्को ध्यानाकर्षण भएको थियो । गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशनसमेत दिएको थियो ।
बादीलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए । १७ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि उत्साहित भएको उनको भनाइ छ । उनले भने, ‘नागरिकतामा अपमानजनक नाम हटाउन पाउनु मेरो अहोभाग्य हो । आफ्नै नामबाट नागरिकता पाइएला भन्ने सोचेकै थिइनँ ।’
उनको यसअघिको नागरिकतासँगै अपमानित नाम उल्लेख भएका अन्य प्रमाणपत्रहरूसमेत खारेज गरिने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।










