दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दैलेखमा क्रियाशिल राजनीतिक दलहरु अहिले चुनावी अंकगणित सँगै टिकट प्राप्तिका विभिन्न प्रक्रियामा सहभागि भएका छन् ।
पालिका केन्द्रित बैठकसँगै अहिले सवै दलहरु जिल्ला केन्द्रित अभियानमा छन् । बिशेष गरेर नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुमा टिकट प्राप्तिका लागि रस्साकस्सी देखिएको छ ।
विगतमा संघ र प्रदेशको चुनावमा आकाँक्षीहरु मध्ये पालिका र क्षेत्रमै चुनाव गरेर धेरै मत ल्याउनेलाई पहिलो र सोही अनुसार क्रमागत नाम सिफारिस हुने गरेको भएपनि यसपाली नेकपा एमाले र नेपाली काँग्रेसले भने उम्मेदवार छनौटमा चुनाव गराएका छैनन् । न्यूनतम ३ जनाको सिफारिस हुन सक्ने स्थानमा तीन जना र त्यसमाथि अधिकाँस आकाँक्षीहरुको नाम जिल्लाबाट सिफारिस गर्ने निर्णय गरेका छन् । दुवै पार्टीमा सर्वसम्मत रुपमा एकजना मात्र उम्मेदवार चुन्न सकेको देखिदैन् । एकीकृत समाजवादीले दैलेखको प्रदेश (क) र (ख) मा एउटा मात्र उम्मेदवार छनौट गरेको छ ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेपका (एमाले), नेपाली कांग्रेस, माओवादी (केन्द्र) र एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्र पार्टी लगायतले उम्मेदवारी दर्ता गराउने देखिएको छ ।
यस अघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेखका दुवै निर्वाचन क्षेत्रमा जित हात पवारेको (एमाले)लाई यस पटक मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन बिरुद्ध चुनावी मैदानमा उत्रनुपर्ने अवस्था आएमा धेरै चुनौतीको सामाना गर्नुपर्ने देखिन्छ । गठबन्धनसँग एक्लै लड्न सक्ने र विजयी हुने स्पष्ट आधार भएका नेताहरुको खोजी गरेर चुनावी प्रतिश्पर्धामा उतार्ने योजना एमालेमा देखिएको छ । नेपाली कांग्रेसले दैलेखका दुईवटै निर्वाचन क्षेत्रको संघीय सांसदमा काँग्रेसका नेताहरुनै चुनावी प्रतिस्पर्धामा जानेगरी तयारी थालेको देखिन्छ ।
११ वटा स्थानीय तह रहेको दैलेखमा बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले दुई नगरपालिका र दुई गाउँपालिका गरी चार वटा स्थानीय तहमा जित हात पारेको छ भने अन्य दुई स्थानीय तहमा माओवादी र पाँच स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनको केन्द्रीय निर्देशन अनुरुप दैलेखमा पाँच दलीय गठबन्धनले शारथकता पाउन सकेको थिएन् । माओवादी (केन्द्रले) प्रमुख र समाजवादी उपप्रमुख जितेको नौमूले गाउँपालिकामा दुई दलीय गठबन्धन रहेको थियो । उक्त गाउँपालिकामा काँग्रेस र एमाले एक्ला–एक्लै निर्वाचनमा गएका थिए । नारायण नगरपालिकामा पाँच दलीय गठबन्धन सँग एमाले एक्लै प्रतिस्पर्धामा गएर प्रमुख उपप्रमुख लगायत बहुमत एमालेका पक्षमा गएको थियो । दुल्लू नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नगर प्रमुखमा विजयी भएका थिए । गठबन्धनका तर्फबाट माओवादीले उपप्रमुख पाएको दुल्लू नगरपालिकामा एकल निर्वाचनमा गएको एमालेका उम्मेदवार विजयी भएका थिए ।
गठबन्धन भित्रै किचलोको संकेत
पाँच दलिय गठबन्धन मध्येको मुख्य पार्टी मानिएको नेपाली काँग्रेसले २ वटा संघीय र ४ वटा प्रदेशमा धमाधम उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ । गठबन्धन भएमा कुन स्थान छोड्ने वा कसले छोड्ने भन्ने बिषय केन्द्रकै निर्देशनमा भर पर्ने भएपछि स्थानीय कार्यकर्ताहरु र अहिले नाम सिफारिस भएका नेताहरुमा नैरास्यता हुन सक्ने देखिएको छ । यसले गठबन्धन भित्रै किचलो बढ्न सक्ने र त्यही किचलोलाई नेकपा एमालेले फाईदाको रुपमा लिन सक्ने देखिन्छ ।
क्षेत्र नं. १ को संघीय संसद र एउटा सिट प्रदेशमा दिनुपर्ने एकीकृत समाजवादीको माग रहेको छ भने अर्कोतर्फ माओवादी केन्द्रले संघमा दावी नगरेपनि दुईवटा प्रदेशमा आफुहरुले गठबन्धनबाट उम्मेदवार हुन पाउनुपर्ने दावी पेश गरेका छन् । यसले गर्दा स्थानीय स्तरमा किचलो बढ्न सक्ने देखिएको भएपनि केन्द्रको निर्णय र निर्देशन पालना गर्ने बारेमा गठबन्धनमा गम्भिर छलफल हुने एक नेताले बताए ।
पार्टीको आन्तरिक समस्या
दुवै क्षेत्रमा बराबर
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी प्रतिस्प्रर्धामा उत्रेका नेताहरुबीचकै आपसी मनमुटाव बढ्ने र एकले अर्कोलाई असहयोग गर्ने प्रवृति दैलेखका दुईवटै निर्वाचन क्षेत्रमा बराबर देखिन्छ । ठूला दलका रुपमा चिनिएका नेकपा एमाले र नेपाली काँग्रेसमा यो रोग विगत लामो सदयदेखि चल्दै आएको छ । नेपाली काँग्रेसभित्र रहेका दुईवटा खेमाका कारण समस्या छ भने नेकपा एमाले भित्र फरक खेमा मानिएको टिम नै फरक पार्टी दर्ता गरेपछि पछिल्लो स्थानीय तहको अंकगणितमा एमालेले जनाधार झनै बलियो बनाएको दावी गरेको छ ।
एमाले भित्र पनि समस्याहरु अँझै केही मात्रामा कायम रहेको र पार्टीका केही नेताहरुको आन्तरिक समस्याका कारणले चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध र भैरवी गाउँपालिका गुमाउनुपरेको निश्कर्ष निकालेको छ । यता नेपाली काँग्रेसले पनि नारायण नगरपालिका, गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका पार्टीको आन्तरिक समस्याकै कारण गुमेको निश्कर्ष निकालेको छ ।
दुवै पार्टीमा देखिएका आन्तरिक समस्या समाधान गर्ने र सकेसम्म आफ्नो पक्षमा जनमत कसरी पार्न सकिन्छ भन्ने कसरतमा दुवै पार्टीहरु लागेका छन् ।
यस्तो छ स्थानीय तहको मतको अंकगणित
११ स्थानीय तह रहेको दैलेखमा ४ स्थानीय तहमा एमाले, ५ स्थानीय तहमा कांग्रेस र २ स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दैलेख क्षेत्र नं. १ मा पर्ने ६ वटा स्थानीय तह मध्ये ३ स्थानीय तहमा एमालेले जित हात पारेको छ । अन्यमा २ माओवादी र १ मा कांग्रेस विजयी भएको छ ।
दैलेख क्षेत्र नं. १ का ६ स्थानीय तहको मतपणिरामलाई केलाउने हो भने यहाँ गठबन्धन भन्दा एमाले करिव ९ हजार ३ सय ९८ मतले पछि देखिन्छ । गुराँस गाउँपालिकामा गठबन्धनका कांग्रेस माओवादीको ४ हजार ५ सय ८ मत रहेको छ । डुङ्गेश्वरमा एमालेको ३ हजार ४ सय ६ मत रहेको छ भने गठबन्धन दलहरुको ३ हजार ३ सय ३६ मत रहेको छ ।
नारायण नगरपालिकामा एमाले भन्दा पाँच दलिए गठबन्धन पछि रहेको छ । स्थानीय तहको मत परिणामलाई हेर्दा यहाँ एमालेले ५ हजार ४ सय ३६ मत प्राप्त गरेको छ । नारायणमा गठबन्धन दलहरुको मत ५ हजार ३ सय ८२ मत रहेको छ । नौमूले गाउँपालिकामा एमाले भन्दा गठबन्धनका दलहर झण्डै ४ हजार मतले अघि छन् । नौमूलेमा साजवादी माओवादीको ३ हजार २ सय र कांग्रेसको २ हजार ५ सय ४४ मत रहेको छ ।
भगवतिमाई गाउँपालिकामा गठबन्धनका दलहरुको मत ५ हजार ७६ देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा भगवतिमाईमा गाउँपालिकामा १ हजार ९ सय ३३ मत प्राप्त गरेको छ । महाबु गाउँपालिकामा पनि गठबन्धनका दलहरु भन्दा एमाले कमजोर देखिन्छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा महाबुमा कांग्रेसले २ हजार ९ सय ७९, समाजवादीले २ हजार २ सय ६८ र एमालेले २ हजार ५ सय १९ मत प्राप्त गरेको छ ।
क्षेत्र नं. २
स्थानीय तहको अंक गणित
दैलेखको क्षेत्र नं. २ मा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा देखिन्छ । पाँच वटा स्थानीय तह रहेको दैलेख क्षेत्र नं. २ मा चारवटा स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठविस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ ।
२०६४ देखि पराजित नभएको एमालेलाई अहिले गठबन्धनसँग प्रतिस्पर्र्धा गर्दा पनि क्षेत्र नं. १ जस्तो धेरै चुनौती देखिदैन् । २०६१ मा माओवादी बिरुद्ध भएको दुल्लू बिद्रोहका कारण दैलेख क्षेत्र नं. २ मा माओवादीको जनाधार कमजोर छ । एमाले विभाजन पछि बनेको समाजवादीको पनि क्षेत्र नं. २ मा त्यती धेरै प्रभाव नभएका कारण काँग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुने देखिन्छ ।
पाँच वटा स्थानीय तह रहेको क्षेत्र नं. २ मा स्थानीय निर्वाचनमा दलहरुले पाएका मत केलाउदा क्षेत्र नं. २ मा एमाले गठबन्धनका दलहरु भन्दा ३ हजार ८ सय ५ मतले पछि देखिन्छ । गठबन्धनका दलहरु कांग्रेस र माओवादीले स्थानीय तह निर्वाचनमा ७ हजार ९ सय १ मत प्राप्त गरेका छन् ।
भैरवी गाउँपालिकामा गठबन्धनका दलहरु कांग्रेस र माओवादी भन्दा एमाले १ हजार ४ सय ९ मतले पछि देखिन्छ । भैरवीमा कांग्रेसले स्थानीय तहको निर्वाचनमा ३ हजार ९ सय ७६ मत प्राप्त गरेको छ । माओवादीले १ हजार ३ सय ९३ मत प्राप्त गरेको छ भने एमालेले भैरवीमा ३ हजार ९ सय ६० मत प्राप्त गरेका देखिन्छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुले ४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् । चामुण्डामा कांग्रेसले ४ हजार ७०, माओवादीले २ सय र समाजवादीले १ सय ३५ मत प्रामप्त गरेका छन भने एमालेले चामुण्डामा ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ ।
यस्तै, ठाटिकाँध गाउँपालिकामा एमाले भन्दा गठबन्धन दलका कांग्रेस र माओवादीका उम्मेदवारले १ हजार ४ सय ९३ मत बढि पाएका छन् । ठाटिकाँधमा कांग्रेसले २ हजार ५ सय ७१, माओवादीले १ हजार ६ सय १७ मत प्राप्त गरेका छन भने एमालेले २ हजार ६ सय ९५ मत प्राप्त गरेको छ ।
स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको आठविस नगरपालिकामा गठबन्धनको प्रमुख घटक कांग्रेसका उम्मेदवारले ५ हजार १ सय ३७ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले ५ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् ।









