दैलेख : कर्णाली प्रदेश सरकारका कानुन मन्त्री हिमबहादुर शाहीले प्रहरी जनताको चुलोचौकोको साथि भइसकेको बताएका छन् । प्रहरी दिवसको अवसरमा दैलेखमा गरिएको बृहत कार्यक्रममा बोल्दै शाहीले भने “नेपाल प्रहरी जनताको यती राम्रो साथि भएको छ कि जनताको चुलोमा आगो बल्यो वा बलेन भनेर हेर्ने देखि अपराध अनुसन्धान र कानुन बिपरित काम गर्नेहरुलाई समेत कानुनी दायरामा ल्याएर कारवाही गर्ने बिषयमा ख्याल गर्नुपर्ने अवस्था छ ।”
समाजमा शान्ति सुरक्षाको बिषयमा समेत प्रहरीले देखाएको सक्रियता प्रभावकारी भएको शाहीको भनाई छ । संघीयता पश्चात कर्णालीमा आवश्यकता अनुसारको दरबन्दी अभाव, भौतिक पूर्वाधार अभाव, भौगोलिक कठिनाई लगायतका समस्या हुँदाहुँदै पनि विपदमा परेका नागरिक देखि सडक पूर्वाधार खुलाउन पनि प्रहरीको भूमिका प्रभावकारी भएको बताएका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नेपाल प्रहरीलाई अँझै प्रवृधिमैत्री बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा सबैले आ–आफ्नो दायित्व प्रभावकारी बनाउँदै आचारसहिंता पालना गर्न सकेमा निष्पक्ष निर्वाचन हुने भएकोले सवैले आचारसहिंता भित्र रहेका काम गर्न सुझाव दिएका छन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले स्थानीय सरकारहरुले प्रहरी सँगसँगै काम गर्नुपर्ने सुझाव दिएका छन् । समाज रुपान्तरणको जिम्मा पाएका स्थानीय सरकारहरुले जनताको सुरक्षा लगायतका बिषयमा प्रहरीसँग साझेदारी गरेर अपराध न्यूनिकरण लगायतका कामहरुमा सहकार्य गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही , जिल्ला अदालत दैलेखका न्यायाधीश बलराम लम्साल, चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर प्रमुख गणेश शाही, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रमुख लगायतको उपस्थिती थियो ।
जिल्ला प्रहरी कार्यालय परिसर भित्र रहेको अमर प्रहरी स्मारकमा सोक सलामी अर्पण गरिएको थियो ।
दिवसको अवसरमा प्रहरी चौकी लालिकाँडा दैलेखलाई निःशुल्क जग्गा दान गर्ने गुराँस गाउँपालिकाका महेन्द्र बहादुर डाँगीलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डांैबाट प्राप्त कदर पत्र प्रदान गरिएको छ । जग्गाको लागि पहल गरेको भन्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सी. लाई कदर पत्र प्रदान गरिएको छ ।
दैलेखमा गत वर्ष उत्कृष्ट कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको छ । पूर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारका परिवारजन हरुलाई सम्मान गरिएको छ ।
दैलेखका प्रहरी प्रमुखलाई कर्णालीकै उत्कृष्ट पुरस्कार
दैलेखमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर प्रभावकारी काम गर्दै आएका प्रहरी प्रमुख भुवनेश्वर शाहलाई कर्णाली प्रदेशकै उत्कृष्ट कर्मचारीका रुपमा कर्णाली प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको छ । प्रमाण पत्र र नगद पुरस्कार सहित गरिएको सम्मानलाई कानुन मन्त्री हिम बहादुर शाहीले प्रदान गरेका छन् । प्रहरी दिवसको अवसरमा दैलेख आएका कानुन मन्त्री शाहीले प्रमाण पत्र र नगद पुरस्कार प्रहरी प्रमुख शाहलाई हस्तान्तरण गरेका छन् ।











