काँग्रेसको भरमा दैलेखका कम्युनिस्ट

  • स्थानीय तह निर्वाचनमा काँग्रेसले २१ हजार २ सय ५७ मत प्राप्त गरेको छ । एमालेले १९ हजार ८ सय ९५, माओवादी केन्द्रले ६ हजार २ सय १३ र महाबु गाउँपालिकामा एक्लै निर्वाचनमा होमिएको समाजवादीले २२ सय ६८ मत प्राप्त गरेको छ । एक्ला–एक्लै निर्वाचनमा जाँदा यहाँ अन्य दल भन्दा काँग्रेस अघि देखिन्छ ।
  • दैलेख : आगामी मंसिर ४ गते हुने ‘आम’ निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनको माहोल बढेसँगै चुनाव आफ्नो पक्षमा पार्न राजनीति दलहरूले गाउँ अभियानलाई तीव्रता दिएका छन् । निर्वाचनको सरगर्मी बढेसँगै यति वेला दैलेखमा विभिन्न विश्लेषण हुने गरेका छन् ।
    दैलेखमा विगतदेखि आफ्नो पकड जमाउँदै आएको एमालेका रविन्द्रराज शर्मासँग यस पटक दैलेख–१ मा एकै पार्टीमा रहेर तीन दशक सहकार्य गरेका समाजवादीका अम्मरबहादुर थापा गठबन्धनबाट चुनावी मैदानमा छन् ।
    पार्टी विभाजन पछि कमजोर बनेको एमालेका शर्मा र सांगठनिक हिसाबले पछि रहेको समाजवादीका थापा दुवै जना कम्युनिस्टका उम्मेदवार काँग्रेस मतदाताको भरमा निर्वाचित हुने दाउमा केन्द्रित छन् ।
    एक पटक संविधानसभा सदस्यसँगै प्रदेशसभा सदस्य हुँदै ६ महिने मन्त्रीसम्म बनेका समाजवादीका थापा र एक कार्यकाल प्रतिनिधिसभा सदस्य खाएका एमालेका शर्मा मध्ये कसलाई प्रतिनिधि सभामा पठाउने निर्णायक मत काँग्रेस मतदाताको हातमा रहेको विश्लेषण गरिन्छ ।
    पाँच दलको साझा उम्मेदवार रहेकाले आफू निर्वाचन जित्ने समाजवादीका अम्मर बहादुर थापाले जिकिर गर्दै आएका छन् । विगत देखिनै सामाजिक रूपमा राम्रो प्रभाव र यहाँ एमालेको जनधार बलियो रहेकाले यस पटक पनि आफू निर्वाचित हुने एमालेका शर्माको दाबी छ ।
    ११ स्थानीय तह रहेको दैलेखमा वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन ताका राजनीतिक दलहरूले पाएको मतलाई विश्लेषण गर्ने हो भने दैलेख–१ मा रहेका ६ वटा स्थानीय तहमा समाजवादी पार्टीको मतभार करिब ५५ सयको हाराहारीमा रहेको विश्लेषण गरिन्छ ।
    स्थानीय तहको मत परिणाम अनुसार दैलेख–१ मा पाँच दलिए गठबन्धन भन्दा कमजोर देखिएको एमालेले यहाँका ६ वटा स्थानीय तहमा गठबन्धन भन्दा करिब ९ हजार मतले पछि छ । प्रतिनिधि सभामा दैलेख–१ मा निर्वाचित हुन एमालेले काँग्रेसका करिब ४ हजार बढी भोट हात पार्नुपर्ने देखिन्छ ।
    गठबन्धनका साझा उम्मेदवार अम्मर बहादुर थापालाई पनि दैलेख–१ मा निर्वाचन जित्न सहज भने नरहेको अनुमान गरिन्छ । ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनताका काँग्रेस (राप्रपा) गठबन्धन रहेको यस क्षेत्रमा (राप्रपा)का दीपक कुमार शाही एमालेका रविन्द्रराज शर्मासँग पराजित भएका थिए ।

    ६ स्थानीय तहमा दलगत अवस्था
    ६ स्थानीय तह रहेको दैलेख–१ मा स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले २१ हजार २ सय ५७ मत प्राप्त गरेको देखिन्छ । एमालेले यहाँका ६ वटा स्थानीय तहमा १९ हजार ८ सय ९५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ६ हजार २ सय १३ र महाबु गाउँपालिकामा एक्लै स्थानीय निर्वाचनमा होमिएको समाजवादीले २२ सय ६८ मत प्राप्त गरेको छ ।
    क्षेत्र नं. १ अन्तर्गतका ६ स्थानीय तह मध्ये नौमूले गाउँपालिकामा माओवादी समाजवादीको गठबन्धनमा उपप्रमुखमा समाजवादीले २८ सय ३४ मत प्राप्त गरेको छ । काँग्रेस समाजवादी गठबन्धन रहेको नारायण नगरपालिकामा समाजवादीले उपप्रमुखमा ३८ सय ३८ मत प्राप्त गरेको देखिन्छ ।

    दैलेख–२ प्रदेशसभा (ख)
    दैलेख–२ अन्तर्गत प्रदेशसभा (ख) एमालेका विनोद कुमार शाह र माओवादीका योगेन्द्र बहादुर शाहीलाई प्रदेश सभामा निर्वाचित हुन काँग्रेस निर्णायक हुने देखिन्छ । ३ वटा स्थानीय तह रहेको दैलेख–२ (ख) मा २ वटा स्थानीय तह काँग्रेस, १ स्थानीय तहमा एमालेले जित हात पारेको छ ।
    स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार उक्त प्रदेश सभामा गठबन्धन भन्दा एमाले करिब २ हजार ७४ मतले पछि छ । चामुण्डाविन्द्रासैनी नगरपालिकामा गठबन्धनको ४४ सय ५ मत रहेको छ भने एमालेको ३९ सय ९२ मत रहेको छ ।
    ठाँटिकाँध गाउँपालिकामा गठबन्धन दलहरूको ४१ सय ८८ मत छ भने एमालेको २२ सय ७९ मत रहेको छ । आठविस नगरपालिकामा एमालेको ५३ सय ८५ मत छ भने गठबन्धन दल काँग्रेसको ५१ सय ३७ मत रहेको छ ।
    दैलेखको अन्य क्षेत्रमा भन्दा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) मा स्थानीय तहको निर्वाचनताका नेपाल मजदुर किसान पार्टीले २२ सय ३ मत प्राप्त गरेको देखिन्छ । मजदुरले चामुण्डाविन्द्रासैनी नगरपालिकामा १४ सय ६२, ठाँटिकाँध गाउँपालिकामा ३ सय २६ र आठविस नगरपालिकामा ४ सय १५ मत पाएको छ ।

    तीन स्थानीय तहमा दलगत अवस्था
    स्थानीय तहको मत परिणाम अनुसार तीन स्थानीय तह रहेको दैलेख–२ अन्तर्गत प्रदेशसभा (ख) मा एमालेको ११ हजार ७ सय ९३ मत रहेको छ । नेपाली काँग्रेसको ११ हजार ७ सय ७८ मत रहेको छ । माओवादी केन्द्रको १८ सय १७ र समाजवादीको १ सय ३५ मत रहेको छ ।
    तीन वटा स्थानीय तह मध्ये चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमालेको ३९ सय ९२, काँग्रेसको ४ हजार ७०, समाजवादीको १ सय ३५ मत रहेको छ । ठाँटिकाँध गाउँपालिकामा एमालेको २४ सय १६, काँग्रेसको २५ सय ७१ मत हरेको छ भने माओवादीको १६ सय १७ मत रहेको छ । आठविस नगरपालिकामा एमालेको ५३ सय ८५, नेपाली काँग्रेसको ५१ सय ३७ मत रहेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार