काठमाडौंः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन् ।
नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र संकटको डिलमा पुगेको बताएका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि आफूले मेहनत गर्ने बताएका हुन् ।
‘अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लनगि मेहनत गर्नु छ,’ पदभार ग्रहण गर्दै पौडेलले भने, ‘विज्ञ र सरोकारवालाका सुझाव लिएर समस्या पहिचान गरेर समधानको बाटोमा लाग्ने काम गर्छु ।’
उनले जनादेशअनुसारको जिम्मेवारी लिएको भन्दै भागवण्डामा नलागी कर्तव्यमा विश्वास गर्ने बताए । ’ अर्थतन्त्रका चुनौती काबुबाहिर छैनन् । समाधान हुन्छ,’ पौडेलले भने ।
यस्तै, सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् । उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेका हुन् ।











