दैलेख : दैलेख ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जिल्ला हो । यहाँ रहेका परम्परागत शैलीहरू, ऐतिहासिक मठ मन्दिर, धार्मिक आस्थाका विभिन्न विषयहरूलाई पहिचानका लागि अग्रसर हुन सबैको दायित्व बरावर हुन्छ ।
स्थानीय सरकार गठन पश्चात् स्थानीय सरकारले आफ्नो पालिका भित्रका सबै विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्दै सोही अनुसार पढाई सञ्चालन गर्नुपर्ने अनिवार्य विषय बनेको भए पनि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । दैलेखका ११ पालिका मध्ये सबै पालिकामा काम चलाउका रूपमा रहेको स्थानीय पाठ्यक्रमको व्यवहारिक कार्यान्वयन गर्न नारायण नगरपालिका सफल भएको छ ।
दैलेखको नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गर्दै पढाई अभियानलाई प्रभावकारी बनाउने तयारी थालेको छ ।
नगरपालिकाले गरेको प्रगतिको बारेमा पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख शर्माले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाई सञ्चालन गर्ने तयारी सुरु भएको बताए । विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषयहरूको समावेश गरिएको छ । दोस्रो कार्यकालको लागि निर्वाचन भए लगत्तै यो अभियान थालिएको नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् । स्थानीय पाठ्यक्रमले नगरपालिकाको समग्र अवस्थाको बारेमा विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने छन्, स्थानीय भेसभुसा, कला संस्कृति, धार्मिक महत्व र इतिहासका विषयहरू सँगै स्वास्थ्य, क्षेत्र, लैगिक हिंसा, जातीय विभेद लगायतका विषयहरू पाठ्यक्रममा समावेश गरिएको छ ।
नगर उपप्रमुख तप्ता कुमारी थापाले शैक्षिक क्षेत्रमा स्थानीय पालिकाको विषयलाई पहिलो प्राथमिकतामा राख्दै बालबालिकाको क्षेत्रमा आउने अन्य समस्याहरूको समाधानका लागि पनि नगरपालिकाले प्रभावकारी काम गरेको बताएका छन् । गर्भवती महिलाहरूको समस्या बुझ्न गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम, किशोर किशोरी शिक्षा जस्ता कार्यक्रमहरू नगरपालिकाले सञ्चालन गरेको थापाको भनाई छ ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षकहरूको समूह निर्माण गरी विज्ञहरूसँग विभिन्न विषयमा छलफल र बहस गरेर काम थालनी गरेको नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जनक न्यौपानेले जानकारी दिएका छन् ।
पाठ्यक्रम निर्माणका लागि जीवराज तिमिल्सेनाको संयोजकत्वमा नगरपालिका भित्रका सबै तहका शिक्षकहरूको समिति निर्माण गरिएको थियो । समितिले विज्ञहरुसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गरेको तिमिल्सेनाको भनाई छ ।
नगर शिक्षा प्रमुख पूर्ण प्रसाद उपाध्यायले नारायण नगरपालिकाले दैलेखका अन्य पालिकाभन्दा प्रभावकारी काम गरेको बताएका छन् । अन्य पालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरेर यसको प्रभावकारी कार्यान्वयन गर्न नसकेका बेलामा नारायण नगरपालिकाले यसको सुरुवात गरिसकेको बताए ।
स्थानीय पाठ्यक्रममा सूचनाको हक, सुशासन र पारदर्शीताकको विषय, विभेद रहित समाजको विषयहरू समावेश गर्नुपर्नेमा पत्रकाहरुले सुझाव दिएका छन् ।
नारायण नगरपालिकाले आज ११ औं नगर सभा सुरु गर्ने भएको छ । अधिवेशनबाट पास भएका विकासे योजनाहरुलाई प्रदेश र संघ सरकारमार्फत अनिवार्य कार्यान्वयन गराउन समयमै योजना माग पेश गर्ने तयारी थालेको छ । विकासे कामको प्रभावकारीताका लागि जेठ महिनालाई मसान्त मानेर काम गर्ने तयारी नगरपालिकाले सुरु गरेको छ ।











