दैलेखः मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण बहुमुखी क्याम्पसमा छात्राबास उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच क्याम्पसमा छात्राबासको उद्घाटन नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले गरेका हुन् । क्याम्पसमा छात्राबासको निर्माण भइसक्दा समेत उचित ब्यपस्थापन नभएकाले नगरपालिकाले यहीँ आर्थिक वर्षभित्र घेरबार सहित अन्य ब्यपस्थापनको काम अघि बढाउने नगर प्रमुख लोमन शर्माले बताए ।
नारायण बहुमुखी क्याम्पस आगामी दिनमा पुस्तकालय, खानेपानी, खेलकुद, घेरबार, छात्रबास, आदि महत्वपूर्ण बिषयमा आफ्नो ध्यानाकर्षण हुने र विद्यार्थीलाई सम्पूर्ण सेवा उपलब्ध गराउने क्याम्पस प्रमुख नरबहादुर शाहीले बताए । छात्राबास उद्घाटन कार्यक्रममा पूर्व क्याम्पस स्ववियू सभापति रेखा थापाले छात्राबास निर्माणका लागि विद्यार्थीहरुले धेरै संघर्ष गर्नु परेको बताइन् । सभापतिको उम्मेदवारी दिदै गर्दा आफ्नो मुख्य एजेन्डा छात्राबास निर्माण गर्ने रहेको थापाले बताइन् ।









