दैलेखमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिका पहिलो भएको छ । फागुन ४ देखि ६ गतेसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदकसहित डुङ्गेश्वर गाउँपालिका पहिलो भएको हो ।
प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ३ कास्य गरी ११ पदकसहित नारायण नगरपालिका द्वितीय भएको छ । ५ स्वर्ण, ८ रजत र ७ कास्य गरी २० पदकसहित नौमूले गाउँपालिका तृतीय हुन सफल भएको छ । त्यस्तै, ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी प्रतियोगितामा चामुण्डाविन्द्रासैनी नगरपालिकाले १२ पदक प्राप्त गरेको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिमाई गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ५ काश्य गरी १२ पदक हात पारेको छ । ठाँटिकाँध गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र ३ काश्य सहित ११ पदक प्राप्त गरेको छ । भैरवी गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ काश्य सहित ५ पदक जितेको छ ।
आठविस नगरपालिकाले ४ रजत र ६ काश्य सहित १० पदक हात पारेको र गुराँस गाउँपालिकाले प्रतियोगितामा कुनै पनि पदक हासिल गर्न नसकेको जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष गोपाल बिसीले बताए । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शान्त वातावरणमा सम्पन्न भएको आयोजक चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ ।
करिव तिन दशक पछि सदरमुकाम बाहिर सम्पन्न भएको खेलकुद प्रतियोगितामा भलिबल, कपडी, एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइएको अध्यक्ष बिसीले बताए ।











