दैलेखमा पाँच हजार बढिले परीक्षा दिने

दैलेख : आजदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा दैलेखका ११ वटा स्थानीयबाट पाँच हजार बढी विद्यार्थीले सहभागिता जनाउने भएका छन् । नियमिततर्फ ४ हजार १ सय १७ जना र ग्रेड वृद्धितर्फ १ हजार १ सय ५८ जना गरी पाँच हजार २ सय ७५ जना विद्यार्थी परीक्षामा सहभागि हुने भएका हुन् ।

चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी ११ स्थानीय तह रहेको दैलेखमा १९ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले बताए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

यस्तै, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन् । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरेका छन् । यस वर्ष कक्षा १२ को वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार