घुम्ती शिविरबाट सय बढिलाई सेवा

दैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि नियमित ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट १ सय बढी गर्भवतीले सेवा लिएका छन् । गाउँपालिकाले यही माघ १६ गतेदेखि विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरबाट १ सय २ जनाले सेवा लिएका हुन् ।

गाउँपालिकाले मेहेलतोली स्वास्थ्य चौकी, जगनाथ स्वास्थ्य चौकी, रुम स्वास्थ्य चौकी, पगनाथ स्वास्थ्य चौकी, कट्टी स्वास्थ्य चौकी, बेस्तडा बर्थिङ्गग सेन्टर र सामुदायिक स्वास्थ्य इकाई चिपिनमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । घुम्ती शिविरमा सेवा लिन आएका १ सय २ जना गर्भवती मध्ये ४ जनालाई रिफर गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जनाए ।

उनले घुम्ती शिविरमा उपचार सम्भव नभएका ४ जना गर्भवतीलाई थप उपचार गर्न जिल्ला अस्पतालमा जान भनेको बताए । ग्रामीण भेगका गर्भवतीलाई सहज सेवा पु¥याउनका लागि घुम्ती शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टको भनाई छ । उनले घुम्ती शिविरमा मेहेलतोली स्वास्थ्य चौकीबाट १३ जना, जगनाथ स्वास्थ्य चौकीबाट २५ जना, रुम स्वास्थ्य चौकीबाट १६ जना, पगनाथ स्वास्थ्य चौकीबाट ६ जना, कट्टी स्वास्थ्य चौकीबाट २३ जना, बेस्तडा बर्थिङ्गग सेन्टरबाट१० जना र सामुदायिक स्वास्थ्य इकाई चिपिनबाट ९ जना गर्भवतीले सेवा लिएका जनाए ।

गाउँपालिकाले समग्र विकास लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई अघि बढाउँदै गएको उपाध्यक्ष मिना कुमारी खड्काले बताइन् । उनले घर घरमा गर्भवती जाँच, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामहरू हुँदै आएका जनाइन् । उपप्रमुख खड्काले आफू स्थानीय तहमा निर्वाचित भएर आएदेखि जन चाहना अनुसार काम गर्दै आएको बताइन् । उनले भगवतिमाईमा दश शय्याको अस्पताल सञ्चालनमा रहेको जनाउँदै अस्पतालको व्यवस्थित भौतिक संरचना निर्माणको काम अघि बढेको जनाइन् । गाउँपालिकामा भौतिक विकासले समेत फट्को मारेको बताउँदै उपाध्यक्ष खड्काले भनिन्, “स्थानीय सरकार जनताका घर आँगन नजिकका सरकार मानिन्छन्, हामीले जनताको हित अनुसार काम गर्दै आएका छौँ, यहाँका सबै वडामा सडकको पहुँच पुगेको छ ।”

उनले गाउँपालिकामा रिङ रोड निर्माणको काम समेत सुरु हुने तयारीमा रहेको जनाइन् । शिक्षाको क्षेत्रका सुधारका काम हुँदै आएका जनाउँदै उपाध्यक्ष खड्काले गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालय मध्ये केहीमा भौतिक संरचना निर्माण भइसकेका र केहीमा प्रक्रिया सुरुहुदै गरेको बताइन् । गाउँपालिकाका ७ वटै वडाहरुमा वर्थीङ सेन्टर सञ्चालनमा रहेको बताउँदै उनले दश शय्याको अस्पतालबाट नागरिकले एक्स–रे सहितको सेवा पाउँदै आएका जनाइन् । जनताका लागि सञ्चालनमा आएका स्थानीय सरकारबाट भरपुर सेवा लिन उनले जनतालाई आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार