दैलेखः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले स्थापना गरेको मोतिविन्दु शल्यक्रिया केन्द्रबाट पहिलो दिन मङ्गलवार पैँतिस जना आँखाका बिरामीको मोतिविन्दु शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया केन्द्रबाट पहिलो दिन पैँतिस जना आँखाका बिरामीको मोतिविन्दु शल्यक्रिया गरिएको हो ।
जिल्लामै पहिलो पटक स्थापना गरिएको मोतिविन्दु शल्यक्रिया केन्द्रबाट पैँतिस जना आँखाका बिरामीले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति नर्जन खत्रीले बताए । उनले मोतिविन्दु शल्यक्रिया केन्द्र प्रत्येक महिनाको अन्तिम शुक्रवार सञ्चालनमा आउने समेत जानकारी गराए । आगामी दिनमा आँखाका बिरामीले मोतिविन्दुको शल्यक्रिया गर्न सुर्खेत लगायतका बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको सभापति खत्रीको भनाई छ । “नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको पहलमा पहिलो पटक जिल्लामै मोतिविन्दु शल्यक्रिया केन्द्रको स्थापना भएको छ ।
नागरिकको समस्यालाई ध्यानमा राख्दै शल्यक्रिया केन्द्र स्थापना गरेका हौँ ।” सभापति खत्रीले भने । उनले महिनाको अन्तिम शुक्रवार नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा सञ्चालन हुने मोतिविन्दु शल्यक्रिया शिविरबाट अति विपन्न, असहाय, गरिबीको रेखामुनि रहेका नागरिकको अवस्था हेरी सहुलियतमा मोतिविन्दुको शल्यक्रिया गरिने बताए ।
यसैगरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको २७औँ वार्षिक साधारण सभा बुधवारनै सम्पन्न भएको छ । साधारण सभाबाट आर्थिक तथा सांगठानीक प्रतिवेदन पारित गरिएको सभापति खत्रीले बताए । साधारण सभाले चालु आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तावित वार्षिक कार्यक्रम समेत अनुमोदन गरेकोे जनाइएको छ ।
बुधवार सम्पन्न २७औँ वार्षिक साधारण सभाले जिल्लामा रहेका रेडक्रसका १४ वटा उपशाखा मध्ये उत्कृष्ट दुई वटा उपशाखालाई सम्मान समेत गरेको छ । नागरिकको सेवामा उल्लेख्य काम गरेको भन्दै भगवतिमाई उपशाखा र नौमूले उपशाखालाई सम्मान गरिएको सभापति खत्रीले बताए ।
यस्तै, साधारण सभामा नेपाल रेडक्रस सोसाइटी युवा तथा जुनियर सर्कलको जिल्ला स्तरीय गोष्ठीको आयोजक त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरिएको जनइएको छ ।











